२०८३, साउन २९ गते

शुक्रबार, साउन २९ गते २०८३

शुक्रबार, साउन २९ गते २०८३

प्रधानमन्त्री बालेन मात्रै ठिक, अरु सबै बेठिक ?

प्रधानमन्त्री बालेन मात्रै ठिक, अरु सबै बेठिक ?

शनिबार, साउन २३ २०८३
  • images
    images
    प्रधानमन्त्री बालेन मात्रै ठिक, अरु सबै बेठिक ?

    प्रधानमन्त्री एक्लिएको स्टेटस आयो । यसका दुईवटा पाटा छन् :  १) या प्रधानमन्त्री साँच्चै एक्लिएका छन् । उनलाई आफ्नै दल, कर्मचारी, सुरक्षा निकाय तथा आफ्नै मन्त्रीमण्डलबाट सहयोग भइरहेको छैन ।


    images

    २) या उनी आफनो कमजोरी लुकाउन इमोस्नल कार्ड खेलिरहेका छन् । म एकजना ठिक छु र बाँकी अरु ठिक छैनन् भन्ने भाष्य खडा गरी थप राजनीतिक महत्वकांक्षातिर अग्रसर छन् । 


    जननिर्वाचित एकल बहुमतको सरकारको प्रधानमन्त्रीले म एक्लिएँ भन्न पाउँदैन । त्यो अवस्था आउनुमा अन्य धेरै पक्ष कारक हुन सक्लान् तर मुख्य जिम्मेवार प्रधानमन्त्री नै हुन्छ । हाम्रो व्यवस्थाले प्रधानमन्त्रीलाई अथाह शक्ति र अवसर दिएको छ । यसको सदुपयोग आजसम्म कमैमात्र प्रधानमन्त्रीले गरेको पाइएको छ ।

    आफ्नो दल, सहयात्री मन्त्री र सांसद, विपक्षी दल तथा देशमा छरिएर रहेका सरकारलाई असफल बनाउन प्रयास गर्ने विभिन्न स्वार्थी समुहलाई मिलाएर र नेगोसिएट गरेर लैजाने जिम्मा प्रधानमन्त्रीकै हुन्छ । यसमा नै प्रधानमन्त्रीको क्षमता मुखरित हुन्छ । अझ भनौं उनको टिमको हुन्छ । मलाई लाग्छ प्रधानमन्त्री एक्लिनुमा वा एक्लिएको महसुस हुनुमा उनको आफ्नो र उनको टिमको तरिकाको प्रमुख भूमिका छ । 

    केही बुँदामै हेरौं न:

    - जनताबाट त्यो किसिमको माया र भोट पाएका युवा प्रधानमन्त्रीले आजसम्म आफूलाई जिताएकोमा जनतालाई धन्यवाद समेत भनेका छैनन् !
    - १८२ जना सांसदले निर्वाचित गरेका प्रधानमन्त्री संसद र सांसद प्रति लगातार पिठ्यूँ फर्काइरहेका छन् । अण्डरएस्टिमेट जस्तो गरिरहेका छन् ।
    - खराब नै सही मिडिया भनेको मिडिया हो । या चल्न दिनुभएन या उनीहरुका प्रश्नको सामना गर्नुपर्यो । प्रम टिमबाट यी काम भएका छैनन् । मिडिया फेस नगर्नुले रियल फेस देखाउँदैन ।
    - प्रधानमन्त्री व्यक्ति होइनन् संस्था हो । प्रधानमन्त्रीका हरेक बोली, वक्तव्य र धारणा देशका धारणा हून् । तिनलाई निश्चित विधिबाट सर्क्यूलेट गर्नुपर्छ । अहिले पनि प्रधानमन्त्रीले यसको लागि अनअफिसियल फेसबुक प्रोफाइल प्रयोग गरिरहेका छन् ।

    - देश सामूहिक प्रयासले बन्ने हो । प्रधानमन्त्रीको समुहमा यतिबेला १८२ मानिस छन् र ४८ प्रतिशत भोटर छन् । अझ प्रधानमन्त्री पद त भोट नदिएका मानिसको पनि प्रतिनिधि पद हो । तर प्रधानमन्त्री दुई चार व्यक्तिलाई कोखिलामा च्याँप्छन् र ‘देश बनाउने टिम’ घोषणा गर्छन् । बाँकिलाई चिढ्याउँछन् ।

    - प्रधानमन्त्रीले सेना तथा सेनाले आयोजन गर्ने समारोहहरुलाई विशेष महत्व दिने तर सार्वभौम संसदले आयोजना गर्ने कार्यक्रमलाई र आफूलाई प्रमको स्थान दिलाउने दलका कार्यक्रमलाई वहिष्कार गरेजस्तो गर्ने शैली अपनाएका देखिन्छन् । जुन सामान्यतया शंकाश्पद लाग्न सक्छ । 


    प्रधानमन्त्रीमा अनगिन्ती असल गुण छन्/होलान् । देश बनाउने पवित्र नियत पनि होला । तर तरिका मिलिरहेको छैन । पछिल्लो स्टेटस पनि आफैमा सही तरिका हैन । प्रधानमन्त्री समस्यामा परेका वा पारिरका छन् भने छलफल चलाउने हो । मन्त्रीमण्डल, संसद र दल तीन तहका छलफल गर्ने हो । मिडियासामू कुरा औपचारिक/अनौपचारिक राख्ने हो । आधिकारिक कुराहरु मात्र बाहिर ल्याएर यो यो हो यस्तो यस्तो हो भनेर डिटेलिंग गर्ने हो । जम्बो सचिवालयको काम के हो ? गुडफ्राइडेको मध्यरातमा भावुक स्टेटस पेलेर समस्याको समाधान खोज्नु अर्को केटाकेटीपन हो । अथवा थप राजनीतिक महत्वाकांक्षाको अर्को चतुर चाल हो । 


    यति लेखियो गालीको ओइरो लाग्छ पक्का छ । तर लेख्नु हाम्रो धर्म हो । सत्य त यही हो जननिर्वाचित प्रधानमन्त्री जोसंग दुईतिहाई बराबरको जनमत छ, जसका सांसदले वा मन्त्रीले आजसम्म ऊ विरुद्ध नकारात्मक एक शब्द बोलेका छैनन्, जसको दल र दलप्रमुखले पुरै काँध हालेका छन्, जसको एउटा पोस्ट मिनेटभरमै भाइरल बन्छ, त्यति जनसमर्थन छ, जसको अण्डरमा देशको सुरक्षा निकाय र ब्यूरोक्रेसी छ, उसले म एक्लिएँ भन्नु या उसको खुदकै अक्षमता हो या ऊ कुनै ठूलो राजनीतिक चाल चल्दैछ ।  

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार