काठमाडौं । पहिलो टि-२० आई खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको छ ।
कीर्तिपुरमा वर्षाले अवरोध गरेको खेलमा युएईले ७ बल बाँकी छँदै चार विकेट गुमाएर पुरा ७८ रनकाे लक्ष्या पुरा गर्यो । जितसँगै पाहुना टोलीले २ खेलकाे सिरिजमा १-० को अग्रता लिएको छ । दीपेन्द्रसिंह ऐरीले पहिलो कप्तानी गरेको खेलमा नेपाल पराजित भयो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा खेलिएको पहिलो अन्तर्राष्ट्रिय क्रिकेटमा टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा १ सय २२ रन बनाएको अवस्थामा खेल वर्षाले बिथोलिएको थियो । र, खेल प्रभावित भएपछि डिएल मेथडका आधारमा यूएईलाई १० ओभरमा ७८ रनकाे क्ष्य दिइएको हो ।
पाहुना टिमका लागि मोहम्मह वासिमले १५ बलमा सर्वाधिक ३३ रन बनाए । उनले तीन छक्का र तीन चौका हाने । पहिलो ओभरमै हेमन्त धामीलाई वासिमले २० रन हानेपछि नेपाल दबाबमा पर्यो ।
दोस्रो ओभरको पाँचौं बलमा २४ रनमा वासिमले जीवनदान पाए। नन्दन यादवको बलमा विकेटकिपर अर्जुन साउदले सहज क्याच ड्रप गरे। चौथो ओभरमा बलिङमा आएका सन्दीप लामिछानेले आफ्नाे काैशल देखाए । ३३ रन बनाएका वासिमलाई उनले चाैथाे ओभरको तेस्रो बलमा कुशल मल्लद्वारा क्याच आउट गराए।
यही ओभरको पाँचौं बलमा २ रन बनाएका अर्का ओपनर अदिब उसमानी पनि सन्दीपकाे शिकार भए । सन्दीप लामिछानेले एकै ओभरमा २ विकेट लिएर फर्काउने कोशिस गरे पनि सम्भव भएन । दोस्रो ओभर बलिङ गर्न आएका सन्दीपले छैटौं ओभरमा पनि किफायती बलिङ गर्दै २ रन बनाएका हर्पित सिंहलाई आउट गरे। उनले यो ओभरमा १ रन दिएर १ विकेट लिए।
अन्तिम २ ओभरमा युएईलाई १५ रन चाहिंदा बलिङमा आएका कुशल मल्लले नवौं ओभरको पहिलो बल वाइड फाले। दोस्रो बलमा १८ रन बनाएका अलिसान सराफु कुशलकाे शिकार भए ।
अब ९ बलमा पाहुना टाेलीलाइ मात्र ७ रन चाहिएकाे थियो,ओभरको पाँचौं बलमा आकाशदीप नाथले छक्का हाने। यो सँगै युएईले ६ विकेटले विजयी भए आकाशदीप १७ रनमा नटआउट रहे। बलिङमा सन्दीपले २ ओभरमा ८ रन दिएर ३ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभर ५ बलमा १ सय २२ रन बनायो। पानी परेपछि खेल रोकिंदा नेपालले २० ओभर ब्याटिङ गर्न पाएन्। नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाएर नटआउट रहे । ३५ बलको सामना गर्दा ऐरीले २ चौका हाने । यस्तै कुशल मल्लले १७, कुशल भुर्तेलले १६, बसिर अहमदले १४, अर्जुन साउद र नन्दन यादवले समान १३ रनको योगदान गरे । नन्दनले ७ बलको सामना गर्दा २ छक्का हाने ।
खराब सुरूवात गरेको नेपालले पहिलो पावर प्लेमा ३ विकेट गुमाएर ४० रन मात्र बनायो। ओपनरद्वय कुशल भुर्तेल र अर्जुन साउदले पहिलो विकेटको लागि २१ रनको साझेदारी गरे।
टी-ट्वान्टी टिममा चार वर्षपछि कमब्याक गरेका अर्जुनको प्रदर्शन कमजोर रहयो। युएईका लागि मोहम्मद जुहैबले ३, जुनैद सिद्धिकीले २ तथा हैदर अलि र मोहम्मद अरफानले समान १ विकेट लिए ।


