काठमाडौं । श्रम संस्कृति पार्टीले देशैभरका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई संगठित गर्ने भएको छ।
सरकारले सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई हटाउने अभियान चलाएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासीहरूलाई संगठित गर्ने घोषणा गरेका हुन्।
‘देशैभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई संगठित गर्ने अभियान देशैभरि सञ्चालन गर्न सबै जिल्ला समिति तथा पालिका समितिहरूलाई अनुरोध छ,’ साम्पाङले भनेका छन्।
सरकारले शनिबारदेखि काठमाडौं उपत्यकाका सार्वजनिक, नदीउकास जग्गामा घर, टहरालगायत संरचना बनाएर बसोबास गरिरहेकाहरूलाई हटाइरहेको छ।
उनीहरूले बनाएका संरचनामा डोजर लगाएको छ भने उनीहरूलाई अस्थायी बसोबास र खानाको व्यवस्था गरेको छ। तर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले त्यसको कडा विरोध गर्दै आएका छन् । उनले सरकारले दमन गरेको भन्दै चर्को विरोध गरिरहेका छन् ।


