काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान नभत्काइने र फेरि नयाँ सम्झौता हुने बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान) पत्र पठाएर क्रिकेट मैदान खाली गर्न भनेपछि पत्रकारले सोधेको प्रश्नमा मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
सोमबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता पोखरेलले भने, ‘राज्यको यत्रो लगानी भएको छ, दुवै राज्यकै निकाय हुन्, भत्किने भन्ने हुँदैन ।’
यस विषयमा आजै बिहान आफूले त्रिविका उपकुलपतिलगायत पदाधिकारीसँग छलफल गरेको उनले सुनाए।
‘आजै बिहान छलफल भएको थियो, सकारात्क कुरा भएको छ,’ पोखरेलले भने, ‘त्रिवि मैदान खाली गराउने उद्देश्य होइन। लिज सकिएकाले लिज एग्रिमेन्ट फेरि गर्नुपर्नेछ।’
त्रिवि र क्यानबीच नयाँ सम्झौता हुने उनको भनाइ थियो। ‘नयाँ खालको लिज एग्रिमेन्टसहित आउँछ, त्यसमा कुनै समस्या छैन,’ पोखरेलले भने।
त्रिवि र क्यानबीचको सम्झौता यहि महिनामा सकिँदै छ। क्रिकेट प्रतियोगिताका कारण पढाइमा असर पुगेको भन्दै त्रिविले सम्झौता थप नगर्ने जनाएको थियो।


