काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्समाथि ८ विकेटको सानदार जित निकालेको छ ।
दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा दिल्ली क्यापिटल्सले दिएको १५६ को लक्ष्य चेन्नई सुपर किंग्सले १७.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो ।
चेन्नईका लागि सञ्जु सामसन ८७ र कार्तिक शर्माले ४१ रनमा नटआउट रहे । सञ्जुले ५२ बलमा ७ चौका र ६ छक्का प्रहार गरे ।
यस्तै, उर्भिल पट्टेलले १७ रन जोड्दा कप्तान रुतुराज गायकवाड ६ रनमा आउट भए । दिल्ली क्यापिटल्सका लागि अक्षर पटेल र लुंगीसानी न्गिडीले समान १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५५ रन जोडेको थियो ।
दिल्ली क्यापिटल्सका लागि समिर रिज्वी ४० रनमा नटआउट रहे । यस्तै, ट्रिस्टन स्टब्सले ३८, पाथुम निशान्काले १९, नितिश राणाले १५ र आशुतोष शर्माले १४ रनको योगदान दिए ।
चेन्नई सुपर किंग्सका लागि नूर अहमदले २ तथा जेमी ओभर्टन, मुकेश चौधरी, अकिल होसेन र गुर्जपनित सिंहले समान १-१ विकेट लिए ।
आईपीएलमा चेन्नई सुपर किंग्सको पाँचौँ जित हो । जितसँगै चेन्नई सुपर किंग्स १० खेलबाट १० अंकका साथ तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्स भने १० खेलबाट ८ अंकका साथ तालिकाको सातौँ स्थानमा छ ।


