२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

बालेन सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी र निराशाजनक: विपक्षी दल

बालेन सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी र निराशाजनक: विपक्षी दल

साझा पोष्ट
सोमबार, वैशाख २८ २०८३
  • images
    images
    बालेन सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी र निराशाजनक: विपक्षी दल

    काठमाडौं । आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई विपक्षी दलहरुले कर्मकाण्डी र निराशाजनक भनेका छन् । 


    images

    सोमबार दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको सय बुँदे नीति तथा कार्यक्रमप्रति विपक्षी दलका नेताहरुले प्रतिक्रिया दिँदै आलोचना गरेका हुन् । 

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको कार्यक्रम निरन्तरमा  कर्मकाण्डी भएको टिप्पणी गर्दै कर्मकाण्डमा केही जलप लगाएर नीति तथा कार्यक्रम आएको बताए ।

    ‘यसले ठुलो परिवर्तनको दिशा लिने देखिँदैन । गरिनेछ, भनिनेछ जस्ता विषय छन्’, उनले भने, ‘२०८७ मा शुद्ध खानेपानी पहिलाकै कार्यक्रम हो ।’ उनले जनताको बिचमा देखिएको उर्लंदो र उरालिएको आकांक्षा र राष्ट्रिय स्रोत साधनस्रोतलाई कसरी सन्तुलन गर्ने र कस्तो बजेट आउँछ भन्नेमा प्रतीक्षा गर्नुपर्ने बताए । 

    ‘केही गर्न खोजिएजस्तो पनि छ तर एक्सन हेर्नुपर्छ । कर्मकाण्डभित्र केही जलप लगाएजस्तो भान पार्न खोजिएको छ । कार्यक्रम भन्दा पनि व्यवस्थापन मुख्य हो,’ सांसद केसीले भने । उनले राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री उठेर नहिँडेको भए राम्रो हुने बताए ।

    अर्को प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको नीति तथा कार्यक्रम झुटको पुलिन्दा बाहेक अरु केही नभएको टिप्पणी गरे । ‘नीति तथा कार्यक्रम झुटको पुलिन्दा बाहेक केही होइन । कार्यन्वयन हुन नसक्ने खालको देखिन्छ’, महरले भने । 

    एमालेका सांसद गुरु बरालले कार्यक्रम नितान्त परम्परावादी आएको बताए । ‘कार्यक्रमको कुनै गन्तव्य छैन’, उनले भने । 
    पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले ल्याएको नीति तथा कार्यक्रम औसत रहेको टिप्पणी गरे । 
     सांसद पुनले विशाल जनमत प्राप्त सरकारले सबै क्षेत्रमा डिपार्चर गर्नेगरी आम नागरिकको अपेक्षा भएपनि त्यस्तो नआएको र तयारी नदेखिएको टिप्पणी गरे । नीति तथा कार्यक्रम अनुसार बजेट आए नवयुवामा निराशा पैदा हुने उनको भनाइ छ । 


    पुनले भने, ‘विशाल जनमत पाएको सरकारले सबै क्षेत्रमा डिपार्चर गर्नेगरी नीति तथा कार्यक्रम ल्याउँछ भन्ने जनअपेक्षा थियो । हामी माननीयहरुले समेत स्वभाविक रुपले ठुलो अपेक्षा जगाएर आएको दलले सरकार बनाइरहेको बेला जनअपेक्षाअनुसार अलि क्रमभंग गर्ने खालको नीति ल्याउँछ भन्ने थियो । सरकारले एभरेज नीति तथा कार्यक्रम ल्याएको छ । यसै खालको बजेट आयो भने नवयुवाहरुमा निराशा पैदा हुने देखिन्छ । सरकार तयारीसहित आएको देखिएन । यो पुरानै शैलीको निन्तरता हो ।’
    उनले बजेट प्रस्तुत गर्दा सरकार तयारीसहित आउनुपर्नेमा जोड दिए । 


    नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारको कार्यक्रममा नयाँ कुरा केही नआएको बताए ।

    ‘बालेन शाह नेतृत्वको नयाँ सरकारले केही आशा र उत्साहजनक नीति तथा कार्यक्रम ल्याउला भन्ने आशा लिएका थियौँ । तर नयाँ शब्द नआउँदा ऊर्जा हराएको जस्तो लाग्यो’, संसद् भवन परिसरमा सञ्चारकर्मीसँग दुलालले भने, ‘आफूले नै ल्याएको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरेर नसक्दै प्रधानमन्त्रीले सुन्न बोर लागेर होला छोडेर हिँड्नुभयो । यो निरन्तरताको कार्यक्रम हो । यसमा नयाँ र कार्यान्वयन गर्न गाह्रो कुनै कुरा देखिएको छैन ।’

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार