काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएका प्रत्येकलाई समेटेर जान आफू तयार रहेको बताएका छन् । विशेष महाधिवेशनमा सहभागी थियो वा थिएन भन्ने आधारमा व्यवहार नहुने पनि उनले प्रतिवद्धता जनाएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई केन्द्रीय समिति र अन्य समितिहरूमा समेट्ने प्रस्ताव राखेका हुन् । थापाले १४ औँ महाधिवेशनबाट निर्वाचित भएका नेताहरूको ठूलो पङ्ति बाहिर रहेको उल्लेख गरे ।
‘पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएको नेताहरूको ठूलो पङ्ति बाहिर छ,’ सभापति थापाले भने, ‘म के भनिरहेको छु– १४ औं महाधिवेशनबाट निर्वाचित नेताहरू जो हुनुहुन्न मेरो समितिभित्र । त्यो प्रत्येक नेता जो चाहनुहुन्छ, म अहिलेको केन्द्रीय समितिभित्र ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जसलाई जे ठाउँमा राखेर हुन्छ म उहाँहरूलाई सँगै राखेर काम गर्न चाहन्छु । मेरो प्रस्ताव हो यो ।’
यस्तै उनले निर्वाचन समिति, सदस्यता छानबिन समिति र अनुशासन समितिमा पनि बाहिर रहेका नेतालाई समेटेर १५ औं महाधिवेशन पारदर्शी गर्न चाहेको बताए । त्यसका लागि छलफलमा आउन उनले इतर पक्षका नेतासँग आग्रह गरे ।
पार्टीमा विशेष महाधिवेशनमा सहभागी भएको र नभएको आधारमा विभेद नगर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरे । ‘को विशेष महाधिवेशनबाट आएको थियो, को आएको थिएन भन्ने आधारमा पार्टीभित्र अवसर प्राप्त गर्ने कुरा पनि हुँदैन, पार्टीको निर्णय पनि चाहे त्यो प्रादेशिक सरकार होस्, चाहे संसदीय दलका बारेमा होस्, चाहे त्यो स्थानीय सरकारका बारेमा होस्, चाहे त्यो भातृसंस्थाका बारेमा होस्,’ उनले भने ।
आफूले यिनै प्रस्ताव इतर पक्षका नेतासमक्ष भेटेर पनि राखेको सभापति थापाले दाबी गरे । थापाले पार्टीको महाधिवेशनका लागि बनाइएका समितिहरूमा पनि को–को राख्दा निष्पक्ष हुन्छ, त्यसमा आफू लचक रहेको उनले उल्लेख गरे । समितिमा बस्न चाहनेहरूलाई जुनसुकै माध्यमबाट नाम पठाउन पनि थापाले आग्रह गरे ।


