काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले बुधवार प्रतिवेदन सार्वजनिक गरेको हो । आयोगले पूर्वप्रधामन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक पूर्वसञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले मानव अधिकार उल्लंघन गरेको ठहर सहित कारवाहीको सिफारिस गरेको छ । यस्तै पूर्वआईजी चन्द्रकुबेर खापुंग, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई पनि कारवाहीको सिफारिस गरेको छ । आयोगले अरु विभिन्न व्यक्ति र प्रहरी अधिकारीलाई पनि कारवाही र अनुसन्धानको सिफारिस गरेको छ ।
यस्तो आयोगले गरेको कारवाही र अनुसन्धानको सिफारिसः
यस्तो आयोगले गरेको कारवाही र अनुसन्धानको सिफारिसः
सिफारिस खण्ड
तथ्य र विश्लेषण खण्डको विभिन्न प्रकरणमा विभिन्न व्यक्तिलाई मानव अधिकार उल्लंघनकर्ता वा दोषी भनी तोकिएको अवस्थामा, त्यस्ता व्यक्तिलाई के कस्तो कारबाही गर्ने भन्ने विषयमा विचार गर्दा, तथ्य र विश्लेषण खण्डमा गरिएको विश्लेषण, अनुसन्धान समितिले बुझाएको प्रतिवेदन तथा प्राप्त अन्य सबुत प्रमाणहरूको आधारमा, नेपालको संविधानको धारा २४९ र राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ अनुसार नेपाल सरकारलाई देहाय बमोजिम कारबाही गराउन सिफारिस गर्ने निर्णय गरियो:
१. तथ्य र विश्लेषण खण्डको प्रकरण नं. ३७ मा नाम उल्लेख भई मानव अधिकार उल्लंघनकर्ता भनिएका तत्कालीन प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली (के.पी. ओली), प्रकरण नं. २८ मा नाम उल्लेख भई मानव अधिकार उल्लंघनकर्ता भनिएका तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रकरण नं. १८ मा नाम उल्लेख भई मानव अधिकार उल्लंघनकर्ता भनिएका तत्कालीन सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ, सबैले मानव अधिकार उल्लंघन गरेको पुष्टि हुन आएकाले निजहरूलाई नेपालको संविधानको धारा २४९ को उपधारा २ (ग) बमोजिम कारबाही गर्ने। निजहरूलाई मानव अधिकार उल्लंघनको विषयमा सजाय गर्ने व्यवस्था हाल प्रचलनमा रहेको कुनै पनि कानूनमा नदेखिँदा, मानवताविरुद्ध र मानव अधिकारको कसुरमा पश्चदर्शी कानून बनाएर पनि सजाय गर्न सकिन्छ भनी सर्वोच्च अदालतबाट (अधिवक्ता बाबुराम बस्नेत वि. नेपाल सरकार, ने.का.प. २०७२, अंक ९, नि.नं. ९०५१) मुद्दामा सिद्धान्त प्रतिपादन भइसकेको हुँदा, निजहरूलाई कारबाही र सजाय गर्न नयाँ कानून निर्माण गर्नुपर्ने देखिन आयो। अतः सो बमोजिम नयाँ कानून निर्माण गरी माथि उल्लेखित तीनै जना लगायतलाई सोही कानून बमोजिम कारबाही गर्ने। मानव अधिकारसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रयोग, अवधारणा र नेपालको आवश्यकतालाई विचार गर्दा, नयाँ बनाइने सो कानूनमा निम्न बमोजिमको प्रावधान राख्न पनि नेपाल सरकारलाई परामर्श दिने गरी निर्णय गरियो:
क) बढीमा ६ महिना कैद वा ३ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था राख्ने।
ख) आयोगले कारबाहीका लागि सिफारिस गरेका यस्ता विषयहरूको मुद्दा विशेष अदालतले हेर्ने व्यवस्था मिलाउने।
ग) राजनीतिक नियुक्ति वा निर्वाचित हुने जुनसुकै पदमा कम्तीमा ५ वर्षसम्मका लागि उम्मेदवार हुन नमिल्ने व्यवस्था गर्ने।
घ) प्रशासनिक जिम्मेवारीमा कम्तीमा ३ वर्षसम्मका लागि बन्देज लगाउने।
ङ) विदेश भ्रमणमा जान कम्तीमा ३ वर्षसम्म प्रतिबन्ध लगाउने।
च) गम्भीर प्रकारका मानव अधिकार उल्लंघन बाहेकका अन्य घटनाको हकमा सम्बन्धित पीडित तथा अदालतको अनुमतिले सार्वजनिक रूपमा क्षमा माग्ने, उचित क्षतिपूर्ति दिने र मानव अधिकार उल्लंघनकर्तालाई सजायबाट क्षमादान दिन सकिने व्यवस्था गर्ने।
छ) मुद्दा परेपछि जुनसुकै सार्वजनिक पदमा रहेका भए तापनि स्वतः निलम्बन हुने व्यवस्था राख्ने।
२. तथ्य र विश्लेषण खण्डको प्रकरण नं. २९ मा नाम लेखिएका र सेवामा रहेका नेपाल प्रहरीका तत्कालीन अतिरिक्त प्रहरी महानिरीक्षक भिम बहादुर कार्की, प्रहरी नायब महानिरीक्षक ओम बिक्रम राणा, वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारी, तत्कालीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायण प्रसाद पौडेल, सशस्त्र प्रहरी उपरीक्षक जीवन के. सी., राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन निर्देशक किरण खनाल, काठमाडौं जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल तथा भदौ २३ गते बानेश्वर र संसद् भवन क्षेत्रमा फिल्डमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डरहरूलाई मानव अधिकार उल्लंघन गरेकोमा नेपालको संविधानको धारा २४९ (२) को (ङ) बमोजिम प्रक्रिया पुर्याई विभागीय कारबाही गरी सोको जानकारी राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा १७(२) बमोजिम यस आयोगलाई दिने।
३. तथ्य र विश्लेषण खण्डको प्रकरण नं. २९ मा नाम उल्लेख भई मानव अधिकार उल्लंघनमा जिम्मेवार देखिएका अवकाश प्राप्त पदाधिकारीहरू प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख ध्रुव थापालाई नेपालको संविधानको धारा २४९ को उपधारा २ (ग) बमोजिम कारबाही गर्ने। साथै निजहरूलाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नहुने गरी रेकर्ड राख्ने।
४. अनुसन्धानको क्रममा संकलित मिसिल संलग्न सबुत प्रमाणहरूको सूक्ष्म विश्लेषण गर्दा, माथि उल्लेखित २३ र २४ गतेको प्रदर्शनमा संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन समेतमा तोडफोड तथा आगजनी गरी देशभरि जुन प्रकारको मानवीय, भौतिक तथा आर्थिक क्षति भएको छ, सो हुनुमा नेपाली सेनाको पनि कमजोरी देखिएको, जनअपेक्षा अनुरूप राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको तथा आम नागरिकको मानव अधिकार संरक्षणप्रति संवेदनशील हुन नसकेको देखिँदा, भविष्यमा यस्ता विषयमा गम्भीर भई राष्ट्रिय सम्पत्तिको संरक्षण र आम नागरिकको मानव अधिकार संरक्षणप्रतिको दायित्वलाई प्राथमिकता दिन प्रधान सेनापतिलाई निर्देशन दिने र संसद् भवनको सुरक्षाका लागि सो भवनभित्र रहेका सेनाका गणका तत्कालीन प्रमुख र राष्ट्रपति भवन शीतल निवासका सेनाका तत्कालीन कमाण्डरलाई सचेत गराउन राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ दफा ५ अनुसार नेपाल सरकारको ध्यानाकर्षण गराउने।
५. सुनसरी जिल्लाको इटहरीमा २ जना र झापा जिल्लामा ३ जनाको सुरक्षाकर्मीको गोली लागी मृत्यु भएको देखिँदा सो घटनाहरूको सूक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने।
६. तथ्य र विश्लेषण खण्डको प्रकरण नं. १४ मा नाम उल्लेख भएका भदौ २४ गतेको हिंसात्मक प्रदर्शनमा भएको आगजनीमा परी मृत्यु भएका २१ जनामध्ये पहिचान भएका ९ जनाको परिवारको हकमा, जेन जी (Gen Z) प्रदर्शनको क्रममा मारिएका अन्य मृतकका हकवाला परिवारलाई दिएसरह राहत/क्षतिपूर्ति उपलब्ध गराउने। पहिचान नभएका १२ जनाको हकमा पहिचान गरी निजका हकवाला परिवारलाई पनि अन्य सरह राहत/क्षतिपूर्ति उपलब्ध गराउने।
७. भदौ २५ गते तथ्य र विश्लेषण खण्डको प्रकरण नं. १३ मा नाम उल्लेख भएका सुरक्षाकर्मीको गोली लागी मृत्यु भएका बाल सुधार गृह नौबस्ता बाँकेका ५ जना बाल बन्दीहरू, रामेछाप कारागारका ३ जना र धादिङ कारागारका २ जना कैदीबन्दीहरू गरी १० जनाको घटना सम्बन्धमा सूक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने र बाल बन्दी तथा कैदीबन्दीका हकवाला परिवारलाई अन्यलाई दिएसरह राहत/क्षतिपूर्ति उपलब्ध गराउने।
८. उल्लेखित २४ गतेको आन्दोलनमा सार्वजनिक र निजी क्षेत्रमा भएका क्षतिहरूका सम्बन्धमा के कस्तो निर्णय र सिफारिस गर्नुपर्ने हो भनी विचार गर्दा, नेपालको संविधानको धारा १७(२) र २५ द्वारा प्रदत्त पेसा, रोजगार र व्यवसाय गर्न पाउने हक र सम्पत्तिको हक समेत राज्यको कारणबाट सुरक्षित हुन नसकी हनन भएको भनी माथि तथ्य तथा विश्लेषण खण्डमा विवेचना गरी सकिएको हुँदा, त्यस्ता निजी क्षेत्रका व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्तिको हानि-नोक्सानीको लागत लिई यथार्थ मूल्यांकन गरी यथाशक्य उचित र मनासिब क्षतिपूर्ति दिलाउने।
९. विश्लेषण खण्डको प्रकरण नं. ६ र ७ मा भदौ २३ र २४ गतेको प्रदर्शनमा आयोजकहरूको भूमिका बारे विश्लेषण गरिए बमोजिम शान्तिपूर्ण प्रदर्शन नगर्ने भनी अनुमति लिएकोमा प्रदर्शन हिंसात्मक हुँदा रोक्न नसकेको देखिएकोले, अबदेखि आफूले आयोजना गरेको कार्यक्रममा घुसपैठ रोक्न तथा प्रदर्शनलाई हिंसात्मक हुन नदिन आवश्यक कार्य गर्न पुरुषोत्तम यादव, सबल पौडेल, अङ्कित मल्ल, खेमराज साउद तथा 'हामी नेपाल' संस्थाका अध्यक्ष सुदन गुरुङ समेतलाई थप अनुसन्धान गर्ने।
१०. तथ्य र विश्लेषण खण्डको प्रकरण नं. ३० मा उल्लेख भएका व्यक्तिहरू— अभिव्यक्ति, आह्वानकर्ता, सहभागीहरू, सम्बन्धित व्यक्ति र संस्थाका सबै व्यक्तिहरू (गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बस्नेत, किरण कार्की, डा. लोभिता कार्की, राजिव खत्री, शोभ शर्मा, के.पी. खनाल, दिपक बोहरा, मनीष झा, ज्वाला संग्रौला, देवराज थापा, कपिल विष्ट, खेमराज साउद, पुरुषोत्तम यादव, 'हामी नेपाल' संस्थाका अध्यक्ष सुदन गुरुङ, अग्निप्रताप अधिकारी, विवेक बमलिया, मिसन बानियाँ, आशिका लामाङ, अमितान बस्नेत, भाग्य न्यौपाने, टंक दहाल, भिक्टर पौडेल, अङ्कित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय, रवि ककर्स ढकाल, हरि ढकाल, निश्चल बस्नेत, सुशिला कार्की, ओम प्रकाश अर्याल, गौरी बहादुर कार्की, पशुपति खड्का, दुर्गा प्रसाई, उर्जा बराल, जेरी थाम्राकार, देवसागर विद्रोही, बुद्ध तामाङ, सतोष राजावादी, अमित खनाल, दिपक देवकोटा, गौरव बराल, हिमानी राज्य लक्ष्मी सिंह, निशान सैनाली) समेतका अन्य व्यक्तिहरूले प्रदर्शनपूर्व, प्रदर्शनका दौरान र प्रदर्शनपश्चात् जेन्जी (Gen Z) प्रदर्शनका सम्बन्धमा अभिव्यक्ति दिएको भन्ने निजहरूको सामाजिक सञ्जाल, प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले निजहरू प्रदर्शनमा सहभागिता हुन सक्ने भनी संकलन गरेको प्रतिवेदन समेतका आधारमा उल्लेख हुन आएको देखिँदा, भदौ २३ र २४ गतेको घटनामा भएको मानवीय र भौतिक क्षति समेतका कार्यमा निजहरूको संलग्नता रहे-नरहेको, निजहरूको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे-नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने कार्य निजहरूबाट भए-नभएको वा सोको दुरुत्साहन भए-नभएको सम्बन्धमा सूक्ष्म अनुसन्धान गरी सम्बन्धित व्यक्ति तथा आम नागरिकलाई सुसूचित गराई उल्लेखित व्यक्तिहरूको स्वच्छ सुनुवाइको हक अधिकारको सुनिश्चिततासहित अनुसन्धान गरी दोषी देखिए कारबाही गर्ने।
११. भदौ २३ र २४ गतेको प्रदर्शनमा घाइते भई हालसम्म पनि उपचाररत र जीवनभर वा भविष्यमा लामो समयसम्म उपचार गराइराख्नुपर्ने वा औषधि सेवन गरीराख्नुपर्ने भनी रेजिष्टर्ड चिकित्सकबाट सिफारिस भएका घाइतेहरूको बाँकी सम्पूर्ण उपचार तथा औषधि निःशुल्क हुने व्यवस्था मिलाउने।
१२. जीविकोपार्जनको स्रोत नभएका मृतकका आश्रित वा परिवारको कम्तीमा एक जना सदस्यलाई रोजगारी तथा स्वरोजगारको व्यवस्था मिलाई निजहरूको बाँच्न पाउने अधिकारको सम्मान गर्ने। यस्तो कार्यमा प्रदेश सरकार तथा स्थानीय तहलाई समेत जिम्मेवार बनाउने।
१३. प्रदर्शनका क्रममा अपाङ्गता भई सहयोगी आवश्यक पर्ने घाइतेहरूलाई आजीवन सहयोगी वा सहयोगी भत्तासहित निजको जीवनयापनको आर्थिक स्रोत सुनिश्चित गर्ने।
१४. उल्लेखित सिफारिसका अतिरिक्त राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धान समितिले अनुसन्धान मिसिलमा देखेको र अधिकार क्षेत्रसमेतका कारण अनुसन्धान गर्न नसकेको— निम्न विषयमा अनुसन्धान गरी दोषीलाई कानून बमोजिम कारबाही गर्न नेपाल सरकारलाई थप सिफारिस गर्ने निर्णय गरियो:
क) माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने भनी कार्यक्रम राखिएकोमा सो ठाउँमा जम्मा भएका प्रदर्शनकारीहरूलाई नयाँ बानेश्वरस्थित संसद् भवनतर्फ लैजाने, सो भीडलाई उक्साउने र संसद् भवनको सुरक्षामा रहेका सुरक्षा फौज समेत उपर हिंसात्मक व्यवहार गर्न उक्साउने TOB समूह तथा अन्य व्यक्तिहरूका बारेमा सूक्ष्म अनुसन्धान गरी दोषी देखिए कानून बमोजिम कारबाहीको दायरामा ल्याउने।
ख) सुरक्षा फौजको कारबाहीमा संसद् भवन परिसर लगायतका स्थानमा भएको कारबाही र सोही जरियाबाट ७६ जना (प्रदर्शनकारी, सर्वसाधारण र प्रहरी कर्मचारी) को मृत्यु भएको अवस्थामा फिल्डमा रहेका सुरक्षाको जिम्मेवारी लिने उच्च स्तरीय कर्मचारी तथा पदाधिकारीहरूलाई कारबाही सिफारिस गरिसकिएको हुँदा, सो बाहेक फिल्डमा खटिएका गोली चलाउने सुरक्षाकर्मीहरूका विषयमा सूक्ष्म अनुसन्धान गरी दोषी पत्ता लगाइ कानून बमोजिम कारबाही गर्ने।
ग) २४ गतेको घटनाको विषय अधिकांश आपराधिक कार्य हो भनी माथि विभिन्न प्रकरणमा विवेचना गरी सकिएको हुँदा त्यस्ता आपराधिक घटनाका सम्बन्धमा थप सूक्ष्म अनुसन्धान गरी दोषी पत्ता लगाइ कानून बमोजिम कारबाही गर्ने।
घ) तथ्य र विश्लेषण खण्डको प्रकरण नं. १५ मा विवेचना गरिए बमोजिम अनाधिकृत रूपमा कारागारबाट निष्कासित कार्य कानून विपरीत रहेको भनी व्याख्या गरी सकिएको र सो कार्य मानव अधिकारको हनन् नभई कारागार ऐन, २०७९ को दफा ४९ मा उल्लेखित फौजदारी अपराध समेत भएको हुँदा, रवि लामिछाने कारागारबाट बाहिर निस्कनुमा को-कसको कस्तो संलग्नता थियो भन्ने सम्बन्धमा— खुंखार कारागारका प्रशासक (जेलर) सत्यराज जोशी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई छुटाउन भनी ठूलो समूहसहित गएका तत्कालीन सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका जिम्मेवार नेताहरू मनिष झा, हरि ढकाल समेतलाई शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान गरी दोषी पत्ता लगाई कानून बमोजिम कारबाही गर्ने।
१५. यस्ता प्रकृतिका घटनाहरू भविष्यमा पुनः नदोहोरिन नीतिगत र संस्थागत सुधार गर्नुपर्ने देखिँदा देहाय बमोजिम गराउन नेपाल सरकारलाई सिफारिस गर्ने:
क) आन्तरिक दङ्गा तथा हिंसात्मक आन्दोलनमा सेनाको प्रयोग गर्ने वा नगर्ने, गर्ने भए कानूनी र नीतिगत व्यवस्था अविलम्ब गर्ने।
ख) राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच समन्वय र सूचना आदानप्रदानमा केही कमजोरी देखिएको हुँदा सो पक्ष सुदृढ गर्ने।
ग) दङ्गा नियन्त्रणका उपायहरू राजनीतिक र प्रशासनिक पदबाट अलग राख्ने वा नराख्ने विषयमा सरोकारवालाहरूसँग व्यापक सरसल्लाह गरी स्थानीय प्रशासन ऐन, २०२८ लाई आवश्यक पुनरावलोकन गर्ने।
घ) राष्ट्रिय अनुसन्धान विभागको कार्य-कारबाही प्रभावकारी नभएको देखिएको हुँदा सो विभागलाई सुदृढ बनाउन आवश्यक प्रक्रिया अवलम्बन गर्ने।
ङ) नेपाल प्रहरीको भीड नियन्त्रण गर्ने टोलीलाई साधन-स्रोतसहित सबल र सुदृढ बनाई मानव अधिकारमैत्री भीड व्यवस्थापनको तालिम प्रदान गर्ने।
१६. सिफारिस खण्डको प्रकरण नं. १ मा सिफारिस गरिए बमोजिमको नयाँ कानून निर्माण नभएसम्म दण्डहीनतालाई थप हौसला नदिन, माथि तथ्य र विश्लेषण खण्डमा विभिन्न व्यक्तिहरूलाई मानव अधिकार उल्लंघनकर्ता भनी तोकिएका व्यक्तिहरू हाल जहाँ, जुन सुकै सार्वजनिक पदमा रहेका भए तापनि कम्तीमा ६ महिना निलम्बन गरी मानव अधिकारको सम्मान तथा संरक्षण गर्ने समेत राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४(१) (छ) बमोजिम सिफारिससहित निर्देशन दिने।


