काठमाडौं । रास्वपाकी सांसद आशिका तामाङले मानवअधिकार आयोगको प्रतिवेदनमा आफ्नो नाम उल्लेख भएकामा गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षण भएको बताएकी छन्।
उनले आयोगले आफ्नो नाम लेख्दा अस्पताल–अस्पताल पुगेर गोली लागेका घाइतेहरूको अवस्था बुझेको, पीडित परिवारको आसु पुछेको चाहिँ नदेखेको भन्दै आक्रोश व्यक्त गरेकी छन् ।
’तर मेरो अभिव्यक्ति भने देखेछ। मैले कसैलाई हिंसा उक्साएको छैन। मैले आगजनी गरेको छैन । मैले तोडफोड गरेको छैन । मैले निर्दोषमाथि गोली चलाएको पनि छैन । मैले केवल अन्यायविरुद्ध बोलेको हुँ,’ उनले भनेकी छन्।
उनले सत्यतथ्य सार्वजनिक गर्न पनि चुनौती दिएकी छन् । मैले बोलेका शब्द मात्र होइन, मैले भोगेका अन्याय पनि हेरियोस् । म सम्बन्धित निकायलाई स्पष्ट रूपमा भन्छु मेरो कुन अभिव्यक्ति, कुन गतिविधि र कुन भूमिकाले हिंसा भड्कायो भन्ने तथ्य सार्वजनिक गरियोस् । निष्पक्ष अनुसन्धान गरियोस् । सत्य लुकाएर लुक्दैन । जनताको पक्षमा बोलेको आवाज दबाएर सत्य समाप्त हुँदैन ।
केपी ओली नेतृत्वको सरकारले आफूलाई १८ दिन हिरासतमा राख्दा परिवारको पीडा र राज्यको अन्याय मानवअधिकार आयोगले नदेखेको उनले बताएकी छन्।
’त्यो बेला आयोग कुन दुलो मा थियो? आज अचानक मेरो अभिव्यक्तिमाथि प्रश्न उठाउन यो आयोग कहाँबाट टुप्लुक्क आइपुग्यो? यदि अनुसन्धान गर्ने हो भने हिसाब–किताब त्यहीँबाट होस्,’ उनले भनेकी छन्।


