काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दुवै सदनको संयुक्त बैठकमा आगामी आवको आय र व्ययको अनुमान प्रस्तुत गरेका हुन्। अर्थमन्त्री वाग्लेले चालूतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत बजेट विनियोजन गरेका हुन्।
त्यसैगरी पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् कुल विनियोजनको २०.३ प्रतिशत तथा वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब ६४ करोड अर्थात् १९.९ प्रतिशत बजेट छुट्याएको मन्त्री वाग्लेले बताए।
यो बजेट चालू आवको संशोधित अनुमानको २५ प्रतिशत बढी हो। बजेटको स्रोत व्यवस्थापनका लागि राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड र वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ व्यहोरिनेछ । न्युन हुने ६ खर्ब ५७ अर्ब २९ करोड रुपैयाँ पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब २८ करोड र आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ परिचालन गर्ने सरकारको लक्ष्य छ ।


