काठमाडौं । भारतले नेपालसँगको द्विपक्षीय विषयमा तेस्रोपक्षको संलग्नता अस्वीकार गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद समाधानमा बेलायतको पनि भूमिका हुनसक्ने अभिव्यक्ति दिएकोमा भारतले त्यसलाई अस्वीकार गरेको हो । ‘सम्बन्धित सबै पक्षले स्पष्ट रूपमा बुझ्नुपर्छ कि भारत र नेपालबीचको द्विपक्षीय विषयमा कुनै तेस्रो पक्षको भूमिका हुँदैन । ’ भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले आज विदेश मन्त्रालयमा भएको साप्ताहिक मिडियामा ब्रिफिङमा भने,’सीमा सम्बन्धी सबै पक्षहरू समाधान गर्न हामीले द्विपक्षीय संयन्त्रहरू स्थापना गरेका छौ ।’
नेपालका प्रधानमन्त्रीले भारत–नेपाल सीमासम्बन्धी गरेका टिप्पणीहरू तथा यस विषयमा नेपालका परराष्ट्र मन्त्रालयले पछि जारी गरेको वक्तव्य आफूहरुले देखेको उनले जानकारी दिए ।
‘भारत–नेपाल सीमाको करिब ९८ प्रतिशत भाग सीमांकन भइसकेको भए पनि केही खण्डहरू अझै समाधान हुन बाँकी छन्। गण्डक नदीको बहावको दिशा परिवर्तन भएका कारण यस्तो अवस्था उत्पन्न भएको हो’ प्रवक्ता जैशवालले भने ।


