बुटवल । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेकपा एमालेका मन्त्रीले राजीनामा दिएका छन् ।
आफूहरुले आज मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रुपमा राजीनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले जानकारी दिए ।
राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्ती र स्वास्थ्यमन्त्री खेम सारु छन् । मुख्यमन्त्रीसहित एमालेका पाँच मन्त्री थिए । तीमध्ये चार जनाले राजीनामा दिएका हुन् ।
लुम्बिनीमा लामो समयदेखि सरकार पुनर्गठनको कुरा चलेपनि आलोपालो सहमति अनुसार मुख्यमन्त्री पनि आफ्नो दलले पाउनुपर्ने कांग्रेसले अडान राखिरहेको छ । यहीबीचमा एमालेले भने आफ्ना मन्त्रीहरू हेरफेर गर्न लागेको हो ।


