काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण उपलब्धीमूलक बनेको बताएका छन् ।
त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै लामिछानेले भ्रमणबारे जानकारी दिएका हुन् । उनले भारतीय पक्षहरुसँग आफूले पारदर्शी ढंगले विभिन्न विषयमा कुराकानी गरेको पनि बताए ।
‘हरेक वैठकमा दुवै पक्षको प्रतिनिधिमण्डल सहभागी थिए । मेरो हरेक भेटवार्तामा दूतावासका कार्यवाहक राजदूत सहभागी हुनुभयो । कुनै पनि भेटघाट अपारदर्शी भएन ।’ उनले भने, अस्पष्ट, लुकिछिपी, अपारदर्शी सम्बन्ध होइन, पारदर्शी, स्पष्ट र कहाँ जाने भन्ने कुराको गन्तव्य तय गरेर हिंड्न सुरु गरिएको विषय भएकाले, यो एक हिसाबले रिसेट जस्तो पनि हो, रिसेट गर्ने काममा यो भ्रमणले मद्दत गर्छ भन्ने आशा गरेको छु ।’
नयाँ सरकार बनेपछि भएको यो भ्रमणबाट आफूले कुन कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौं भनेर कुराकानी अघि बढाएको जानकारी गराए ।

‘नयाँ सरकार बनिसकेपछि मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने, लगानीका कुरामा, सहकार्यका कुरामा, हाम्रो वर्षौदेखि रहेको सद्भावपूर्ण सम्बन्धका आधारमा राष्ट्रका रुपमा कुन लाभलाई लिन सक्छौं,’ भ्रमणबाट फर्किएपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौं भनेर कुराकानी अघि बढेको छ । एउटा राजनीतिक दल र अर्को राजनीतिक दलको निमन्त्रणमा भएका विषय भएकाले हामी एउटा चरणमा प्रवेश गरेका छौं ।’
द्विपक्षीय भेटवार्तामा सीमा समस्याबारे किन केही पनि कुरा गर्नुभएन भन्ने पत्रकारको प्रश्नमा उनले यी विषय कुटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने भन्दै यी ढोल पिट्ने विषय नभएको पनि बताए ।
‘दुई देशबीचका कुनै पनि विषय कुटनीतिको माध्यमबाट, कुटनीतिक च्यानललाई एक्टिभ गराउनु सबैभन्दा महत्वपूर्ण हुन्छ । उनले भने, तिनको आवाज एकदमै हल्ला गरेजस्तो, ढोल बजाएर हुँदैन । ढोल नबजाइकन आफ्नो देशको कुराहरु चरणवद्ध तरिकाले गर्नुपर्छ ।
अभियन्ता र पत्रकारले उठाउने विषय तथा सबैभन्दा बढी जनताले पत्याएको राजनीतिक दलले उठाउने विषयको फरक–फरक जिम्मेवारी र संवेदनशीलता फरक हुने र त्यसलाई बुझ्नुपर्नेमा उनले जोड दिए ।
उनले अगाडि भने, 'समस्या समाधान गर्न कुटनीतिका चरण हुन्छन् । सही ठाउँमा, सही ढंगले आफ्ना कुरा राख्न नेपालले हिजो पनि सुरु गरेको थियो, आज पनि गरेको छ, ती कुराहरु कुटनीतिक माध्यमबाट अघि बढ्ने भएकाले मिडियाका चासोभन्दा संवेदनशील भएर अघि बढेका हुन्छन् । त्यस ढंगले कुराहरु अघि बढ्यो ।’


