काठमाडौं । हङकङलाई हराउँदै नेपालले एसियाली खेलकुद छनोटको पुरुष क्रिकेटको उपाधि जितेको छ । वर्षाले बिथाेलेको फाइनलमा हङकङलाई डकवर्थ लेविस मेथडमा १९ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।
१ सय ८९ रन पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेटको नोक्सानीमा १ सय १४ रन बनाएको अवस्थामा पानी परेर नरोकिएपछि नेपालले डिएल मेथडमा विजयी भयो ।
नेपालका लागि कुशल भुर्तेलले ४० बलमा ६५ रन बनाएर आउट भए । रोहित पौडेल ३५ रनमा तथा दीपेन्द्रसिंह ऐरी ९ रनमा नटआउट रहे ।
हङकङका लागि एहसान खान र आयुष शुक्लाले १-१ विकेट लिए । नेपाल कीर्तिमानी जित हासिल गर्नबाट भने चुकेको छ । १८९ रनको लक्ष्य पूरा गरेर जित निकालेको अवस्थामा नेपालका लागि सर्वाधिक सफल रन चेज हुने थियो ।
यसअघि नेपालले सन् २०२५ मा कुवेतविरुद्ध १८६ रनको लक्ष्य पूरा गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेकाे हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियाे ।
हङकङका लागि अंशुमन राथले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८० रन बनाए । शाहिद वासिफले २८ बलमा ५५ रन बनाए । शिव माथुरले २६ रन बनाए ।
नेपालका लागि शेर मल्लले ४ ओभरमा ३२ रन दिएर ४ विकेट लिए । करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।
१८ ओभरमा १७९-५ को अवस्थामा भएपनि हङकङले अपेक्षित फिनिसिङ गर्न सकेन । नेपाल र हङकङ अपराजित रहँदै फाइनल पुगेका थिए ।


