काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा), अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राईसहितका पदाधिकारी र कर्मचारीसहित २४ जनालाई विदेश यात्राको रोक फुक्का गर्न अस्वीकार गरेको छ।
एन्फा अध्यक्ष नेम्वाङ, महासचिव किरण राईसहितको टोली आज फिफा र एएफसीको पत्र लिएर राखेप गएकोमा राखेपले त्यसलाई अस्वीकार गरेको हो । एन्फा अध्यक्षले विदेश यात्राको रोक हटाउन आग्रह गरेकामा सदस्य सचिव रामचरित्र मेहताले अहिलेकै अवस्थामा विदेश यात्रा रोक हटाउन नसकिने जवाफ दिएका हुन् ।
मेहताले विदेश जाने हो भने राजीनामा दिएर जान भनेका थिए । ११ जुनबाट सुरु हुने फिफा विश्वकप २०२६ मा सहभागी हुन अध्यक्ष नेम्बाङ र महासचिव राई आजै राति मेक्सिको जानेगरी तयारी गरेका थिए । यद्यपि उनीहरूको प्रयासलाई राखेपले भने रोक लगाएको छ ।
आर्थिक विषयको छानबिनका लागि राखेपको सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको थियो ।


