२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

६ वटा प्रदेश सरकारको बजेट २ खर्ब ५४ अर्ब, कसकाे कति ?

६ वटा प्रदेश सरकारको बजेट २ खर्ब ५४ अर्ब, कसकाे कति ?

साझा पोष्ट
सोमबार, असार १ २०८३
  • images
    images
    ६ वटा प्रदेश सरकारको बजेट २ खर्ब ५४ अर्ब, कसकाे कति ?

    काठमाडौं । ६ वटा प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३÷८४ का बजेट ल्याएका छन्  । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशले आगामी आर्थिक वर्षका लागि २ खर्ब ५४ अर्ब ३० करोड ६ लाख रुपैयाँको बजेट ल्याएका छन्।
    सुदुरपश्चिम प्रदेशमा भने सरकारभित्रकै विवादका कारण अझै बजेट मन्त्रिपरिषद्मा समेत पुग्न सकेको छैन। मन्त्रिपरिषद् बैठकले पारित गरेपछि मात्रै बजेट प्रदेशसभामा प्रस्तुत हुन्छ।
    संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरूले हरेक वर्षको असार १ गते प्रदेश सभामा आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्नुपर्छ।


    images

    बागमतीमा सबैभन्दा ठूलो बजेट
    बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको छ। प्रदेश सरकारहरुले ल्याएको बजेटमध्ये बागमतीको सबैभन्दा ठूलो बजेट हो।

    सोमबार बागमती प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन्।

    बागमती प्रदेशको कुल विनियोजनमध्ये चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार अर्थात् ३४.३१ प्रतिशत र पुँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार अर्थात् कुल विनियोजनको ६५.६९ प्रतिशत रहेको छ। बागमतीमा भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि मात्रै प्रदेश सरकारले २५ अर्ब ६० करोड ८ लाख ४८ हजार रुपैयाँ बजेट छुट्याएको छ।


    बागमती प्रदेश सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ।बागमती सरकारले भीमफेदी–कुलेखानी सुरुङमार्गको अध्ययनलाई पनि प्राथमिकतामा राखेको छ। प्रदेशका अति विपन्न परिवारको घर निर्माण गर्न २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अतिविपन्न १ हजार परिवारको घर निर्माण गर्न २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

    मधेसमा ४१ अर्ब

    मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ल्याएको छ।

    मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार अर्थात् ३५.५४ प्रतिशत छुट्याइएको छ। पुँजीगत खर्चतर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार अर्थात् ६४.३६ प्रतिशत विनियोजन गरेको अर्थमन्त्री भट्टराईले बताएका छन्।

    आगामी आर्थिक वर्षमा १५ प्रतिशत कर्मचारी कटौती गर्ने कार्यक्रम मधेस सरकारको बजेटमा उल्लेख छ। यसअघि बद्नाम भएको ‘बेटी बचाउ, बेटी बचाउ’ कार्यक्रमलाई उद्यमशीलतासँग जोडेर परिमार्जन गरिएको छ।  

    कोसीमा ४० अर्ब

    कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँको बजेट ल्याएको छ। सोमबार आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे । यो बजेट चालु आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले बढी हो।

    सरकारले कुल विनियोजनमध्ये पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ छुट्याएको छ भने चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणका लागि ५ अर्ब ५६ करोड ३६ लाख र वित्तीय व्यवस्थापनका लागि १५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

    लुम्बिनीको बजेट ३७ अर्ब

    लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को लागि ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट ल्याएको छ।

    लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन्।

    उनले आगामी आर्थिक वर्षमा चालु खर्चतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार अर्थात २९.७३ र पुँजीगततर्फ २२ खर्ब ७१ करोड ६५ लाख ४० हजार अर्थात ६०.७७ प्रतिशत विनियोजन गरिएको बताएका छन्। त्यसै गरी, वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५५ करोड ५२ लाख ५० हजार अर्थात् ९.५० प्रतिशत छ।

    लुम्बिनी प्रदेशमा औद्योगिक क्षेत्र विस्तारको लागि सूर्ती र मदिराबाहेकको उद्योग दर्ता र नवीकरणमा लाग्ने सबै शुल्क छुट दिने व्यवस्था गरिएको छ। त्यसै गरी, कर्मचारीको तलब २१ प्रतिशत बढाउने र मन्त्रालयको संख्या घटाएर ८ मा सीमित गर्ने बजेट मन्त्री कार्कीले ल्याएका छन्।

    कर्णालीमा ३५ अर्ब ३९ करोड बजेट

    कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाखको बजेट प्रदेश सभामा प्रस्तुत गरेका छन्। यो बजेट चालु आर्थिक वर्षको बजेटको तुलनामा ७.२८ प्रतिशतले बढी हो।

    कर्णालीको कुल बजेटमध्ये चालु खर्चतर्फ ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार अर्थात् २४.३१ प्रतिशत र पुँजीगत खर्चतर्फ २० अर्ब ७४ करोड ६७ लाख १२ हजार अर्थात् ५८.३१ प्रतिशत विनियोजन भएको छ। त्यसै गरी वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरिएको अर्थमन्त्री शाहले बताएका छन्।

    गण्डकीको बजेट बढ्यो 
    गण्डकी प्रदेश सरकारले  ३२ अर्ब ९९ सय करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ। गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले सोमबार आर्थिक वर्ष २०८३/०८४ को आयव्यय विवरण प्रस्तुत गरेका हुन्।

    गण्डकी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ मा ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँको बजेट आएको थियो। आगामी आर्थिक वर्षको लागि अहिलेको भन्दा केही बढाएर बजेट ल्याइएको हो।

    शेरचनले प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ १२ अर्ब ७२ करोड २६ लाख अर्थात् ३८ .५६ विनियोजन गरिएको छ भने पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख अर्थात ६०.४४ प्रतिशत विनियोजन गरिएको छ। वित्तीय व्यवस्थापनतर्फ २५ करोड छुट्याइएको छ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार