काठमाडौं। विश्वकप फूटबल अन्तर्गत समूह ‘जी’ पहिलो उपाधि दाबेदार बेल्जियमले इजिप्टसँग १–१ को बराबरी खेलेको छ।
१-० ले पछि परेको परेको बेल्जियमलाई दोस्रो हाफमा मैदान प्रवेश गरेका रोमेलु लुकाकुले गोल गर्दै हारबाट जोगाए । इजिप्टले १९औँ मिनेटमा अग्रता लिएको थियो। आफ्नो ३०औँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका मिडफिल्डर इमाम अशोरले २० यार्ड टाढाबाट उत्कृष्ट प्रहार गर्दै पहिलो अन्तर्राष्ट्रिय गोल गरे।
३४औँ जन्मदिन मनाइरहेका मोहम्मद सलाहको सटिक पासलाई अशोरले पहिलो टचमै नियन्त्रण गर्दै दायाँ खुट्टाबाट प्रहार गरेका थिए। बल बेल्जियमका गोलरक्षक थिबाउट कोर्टुवाको पहुँचभन्दा बाहिर तल्लो बायाँ कुनामा पुगेर जाली चुमेको थियो।
दोस्रो हाफमा बेल्जियमले खेलमा दबाब बढायो। ६६औँ मिनेटमा रोमेलु लुकाकुलाई मैदानमा उतारेको थियो। मैदान प्रवेश गरेको केवल २८ सेकेन्डमै उनले खेल बराबरीमा ल्याउन महत्वपूर्ण भूमिका खेले।
थोमस मुनिएरको क्रसमा लुकाकुले दुई डिफेन्डरलाई छल्दै बलतर्फ दौडिएपछि इजिप्टका डिफेन्डर अहमद हानीको खुट्टामा बल लागेर आफ्नै पोस्टमा आत्मघाती गोल हुन पुग्यो।
त्यसपछि दुवै टोलीले विजयी गोलका लागि प्रयास गरे पनि थप गोल हुन सकेन।


