काठमाडौं । ब्रायन ब्रोबी र कोडी गाक्पोको दुई गोल मद्दतमा नेदरल्यान्ड्सले फिफा विश्वकप २०२६ स्वीडेनलाई ५–१ ले पराजित गरेको छ । शनिबार राति भएको समूह एफको खेलमा नेदरल्याण्ड्सले शानदार जित हासिल गरेको हो ।
नेदरल्यान्ड्सको यो पहिलो जित हो । पहिलो खेलमा जापानसँग बराबरी खेलेको नेदरल्यान्ड्स दुई खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ र नकआउट पुग्ने सम्भावना बलियो बनाएको छ ।
ह्युस्टन स्टेडियममा करिब ६९ हजार दर्शकमाझ भएको खेलमा कोडी गाक्पो र ब्रायन ब्रोबीले समान दुई–दुई गोल गरे भने क्रिसेन्सियो समरभिलले एक गोल थपे।
खेलको पाँचौँ मिनेटमै ब्रोबीले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए। कोडी गाक्पोको पासमा उनले नजिकबाट बल जाली चुमाए।
१७औँ मिनेटमा डेन्जेल डम्फ्रिसको क्रस डिफ्लेक्ट हुँदै ब्रोबीको सामु पुगेपछि उनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गरे।
दोस्रो हाफ सुरु भएको दुई मिनेटमै गाक्पोले नेदरल्यान्ड्सको अग्रता ३–० बनाए। डम्फ्रिसकै अर्को खतरनाक क्रसमा उनले नजिकबाट गोल गरे। ५४औँ मिनेटमा गाक्पोले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ४–० पुर्याए।
५९औँ मिनेटमा स्विडेनका वैकल्पिक खेलाडी एन्थोनी एलाङ्गाले उत्कृष्ट फिनिसिङमार्फत एक गोल फर्काए।
तर खेलको अन्त्यतिर समरभिलले गोल थप्दै नेदरल्यान्ड्सको ५–१ को शानदार जित सुनिश्चित गरे। उत्तर अमेरिकामा जारी प्रतियोगितामा समरभिलको यो दोस्रो गोल हो।
हारका बाबजुद स्विडेनले केही राम्रो अवसर सिर्जना गरेको थियो। यासिन आयारी र ग्योकेरेसले पाएका अवसर सदुपयोग गर्न नसक्दा टोली ठूलो हारबाट बच्न सकेन। नेदरल्यान्ड्सका गोलकिपर बार्ट फर्ब्रुगेनले पनि उत्कृष्ट प्रदर्शन गर्दै स्विडेनका धेरै प्रयास विफल पारे।
अब समूह चरणको अर्को खेलमा स्विडेनले जापानको सामना गर्नेछ भने नेदरल्यान्ड्सले ट्युनिसियासँग खेल्नेछ। स्विडेनको अझै पनि अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै छ।


