काठमाडौं । फिफा विश्वकप फूटबल अन्तर्गत आज राति साविक विजेता अर्जेन्टिना र अस्ट्रिया भिड्दैछन् । अमेरिकाको टेक्सास राज्यस्थित ड्यालसमा खेल नेपाली समयअनुसार राति १०ः४५ बजे हुनेछ ।
समूह ‘जे’अन्तर्गतको यो खेलमा अस्ट्रियालाई हराए लियोनल मेसीको नेतृत्वमा अर्जेन्टिना लगातार चौथोपटक नकआउट चरण प्रवेश गर्नेछ । अस्ट्रिया सन् १९८२ पछि पहिलोपटक नकआउट चरणमा छनोट हुने लक्ष्यमा छ । सन् १९९८ फ्रान्स पछि पहिलोपटक विश्वकपमा सहभागिता जनाइरहेको अस्ट्रियासँग यसपाली राम्रो अवसर छ । अर्जेन्टिनालाई बराबरीमा मात्र रोक्ने हो भने पनि टोली लगभग लगभग अर्को चरण पुग्नेछ ।
पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हराएको थियो । अस्ट्रियासँग पनि तीन अंक छ । अस्ट्रियाले जोर्डनलाई ३–१ ले पराजित गरेको थियो । यी दुईले अहिलेसम्म दुईपटक एकअर्कासँग प्रतिस्पर्धा गरेका छन् । सन् १९९० मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अस्ट्रियाले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोकेको थियो । त्यसको एक दशक अगाडि भने टोली ५–१ ले पराजित भएको थियो ।
पहिलो खेलमा तीन गोल गर्दै अर्जेन्टिनी कप्तान मेस्सी लयमा छन् । उनले आजको खेलमा गोल गरे विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाउनेछन् । उनको अहिले १६ गोल छ । उनीभन्दा पहिले जर्मनीका मिरोस्लाभ क्लोसले १६ गोल गरेर कीर्तिमान बनाएका थिए ।


