काठमाडौं । दक्षिण अमेरिकी देश भेनेजुयलामा बुधबार शक्तिशाली भूकम्प गएको छ । केही सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि राजधानी कराकास सहित विभिन्न क्षेत्रमा भवनहरू भत्किएका छन् । भूकम्पका कारण ठूलो क्षति भएको अनुमान छ ।
प्रारम्भिक मूल्याङ्कनअनुसार मृतक संख्या १० हजारभन्दा बढी पुग्ने सम्भावना ४४ प्रतिशत रहेको बताइएको छ, यद्यपि समाचार तयार पार्दासम्म आधिकारिक क्षतिको विवरण सार्वजनिक नभएको बीबीसीले जनाएको छ । राष्ट्रिय बिदाको दिन परेकाले धेरै मानिस घरमै रहेका बेला भूकम्पमा परेको अनुमान छ ।
भूकम्प लगत्तै हजारौं मानिस घर र कार्यालयबाट बाहिर निस्केर सडकमा जम्मा भएका थिए । भेनेजुएलाका गृहमन्त्री डियोस्दादो काबेलोले केही भवन तथा घरहरू भत्किएको पुष्टि गर्दै नागरिकलाई सावधानी अपनाउन र घरबाहिर बस्न आग्रह गरेका छन् ।
भूकम्पको धक्का देशभर महसुस गरिएको थियो भने छिमेकी कोलम्बियाको राजधानी बोगाटासम्म पनि कम्पन महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उद्धार तथा खोजी कार्य जारी रहेको छ ।
।


