काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र झलनाथ खनाल एउटै मञ्चमा देखिने भएका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आज असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गर्ने कार्यक्रममा उनीहरू सहभागी हुने भएका हुन्।
‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीको प्रमुख अतिथि भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हुनेछिन् ।
ओली, प्रचण्ड र नेपालसँगै सो कार्यक्रममा नेताहरू झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुँदै छन्।
लामो समयपछि एउटै कार्यक्रममामा देशका प्रमुख कम्युनिस्ट नेताहरूको उपस्थिति हुने भएकाले यसलाई राजनीतिक रूपमा समेत चासोका साथ हेरिएको छ ।


