काठमाडौं। ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। फिफा विश्वकप २०२६ को अन्तिम १६ मा नर्वेसँग २–१ को हारसँगै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि उनले राष्ट्रिय टोलीसँगको १६ वर्ष लामो यात्राअन्त्य गरेका हुन्।
३४ वर्षीय नेयमारले खेलपछि भावुक हुँदै अब ब्राजिलका लागि आफ्नो यात्रा समाप्त भएको घोषणा गरे । ब्राजिलका लागि उनको अन्तिम गोल नर्वेविरुद्ध इन्जुरी समयमा पेनाल्टीबाट आयो। तर पाँच पटकको विश्वविजेता टोलीलाई प्रतियोगितामा जोगाउन त्यो पर्याप्त भएन।
सन् २०१० मा सिनियर टोलीबाट डेब्यु गरेका नेयमारले १२९ अन्तर्राष्ट्रिय खेलमा ८० गोल गर्दै ब्राजिलका पुरुष फुटबलतर्फ सर्वाधिक गोलकर्ता हुन्
चार संस्करणको फिफा विश्वकप खेलेका उनले एक दशकभन्दा बढी समय ब्राजिलको आक्रमणको नेतृत्व गरे। तर विश्वकप उपाधि जित्ने सपना भने अधुरै रह्यो।
यद्यपि उनले सन् २०१३ मा फिफा कन्फेडेरेसन कप जितेका थिए। त्यसपछि कप्तानका रूपमा सन् २०१६ को रियो ओलम्पिकमा ब्राजिललाई पहिलो पटक स्वर्ण पदक दिलाएका थिए। उनले सन् २०१२ को लन्डन ओलम्पिकमा रजत पदक पनि जितेका थिए।


