काठमाडौं। आयोजक एवम् उपाधिको दाबेदार मानिएको मेक्सिकोलाई हराउँदै इंग्ल्यान्ड विश्वकप फूटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ
मेक्सिकोको घरेलु मैदान एज्टेका स्टेडियममा भएको खेलमा ३–२ को जित हात पार्दै ईंग्ल्याण्ड अन्तिम ८ मा प्रवेश गरेको हो ।
दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सीमित रहेर खेलेपनि इंग्ल्यान्डले अग्रता जोगाउँदै अन्तिम आठमा स्थान सुरक्षित गर्यो। यससँगै मेक्सिकोको ४० वर्षयताकै उत्कृष्ट विश्वकप यात्रा पनि समाप्त भएको छ।
खेलको सुरुआतदेखि नै आक्रामक देखिएको इंग्ल्यान्डका लागि जुड बेलिङहम नायक बने। उनले एक मिनेटको अन्तरमा दुई गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध पारे ३६ औं मिनेटमा पहिलो गोल उनले बुकायो साकाको क्रसमा गरे भने त्यसको दुई मिनेपछि अर्थात् ३८ औं मिनेटमा ह्यारी केनको पासलाई सदुपयोग गर्दै व्यक्तिगत दोस्रो गोल गरे र टिमको अग्रता दोब्बर पारे ।
४२ औं मिनेटमा मेक्सिकोका जुलियन किन्योनेसले पेनाल्टी क्षेत्रभित्र आएको रिबाउन्ड बलमा गोल गर्दै पुनरागमनको आशा कायमै राखे ।
दोस्रो हाफमा भिडियो असिस्टेन्ट रेफ्री ( भीएआर)को समीक्षा पछि इंग्ल्यान्डका जारेल क्वान्सा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इंग्ल्यान्ड १० खेलाडीमा सीमित भयो।
तर त्यसपछि मेक्सिकाका गोलकिपर राउल रान्गेलले एन्थोनी गोर्डनमाथि फाउल गरेपछि प्राप्त पेनाल्टीमा ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई पुनः दुई गोलको अग्रता दिलाए।
भीएआरमार्फत ह्यारी केनले ब्रायन गुटिएरेजमाथि फाउल गरेको पुष्टि भएपछि मेक्सिकोले पनि पेनाल्टी पायो। त्यसलाई राउल जिमेनेजले गोलमा परिणत गर्दै ३ २ मा पुर्याए ।
बाँकी समयमा मेक्सिकोले बराबरी गोलका लागि निरन्तर दबाब बनाए पनि इंग्ल्यान्डले अग्रता जोगाउँदै जित हासिल गर्यो ।
अब इङ्ग्ल्यान्डले शनिबार मियामीमा हुने क्वाटरफाइनलमा नर्वेको सामना गर्नेछ।


