काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि ८ मध्ये ६ टोलीलाई मुख्य प्रायोजन गरेको छ।
काठमाडौंमा सोमवार पत्रकार सम्मेलन गर्दै एक्सट्रिमले एनपिएलको साविक विजेता लुम्बिनी लायन्ससहित ६ टिमलाई मुख्य प्रायोजन गरेको हो ।
एक्स्ट्रिमले पहिलो संस्करणको विजेता जनकपुर बोल्टस, काठमाडौं गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, कर्णाली याक्ससँग मुख्य प्रायोजनको सम्झौता गरेको हो। एक्सट्रिमकी बिजनेस हेड सोनिया राणा र सबै ६ टोलीका जिम्मेवार अधिकारीबीच सम्झौता पत्र आदान प्रदान भयो । सम्झौता ३ वर्षका लागि रहेको बताइएको छ।
एउटै कम्पनीले एकै पटक ६ टोलीलाई मुख्य प्रायोजन गरेको नेपाली खेलकुदको इतिहासमै पहिलो अभ्यास हो। एक्सट्रिमकी बिजनेस हेड राणाले यो नेपाली सबै भन्दा ठूलो प्रायोजन मध्ये एक हुन सक्ने बताइन् । तर रकम भने खुलाइएको छैन ।
नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटका लागि यो सम्झौता नयाँ कोसेढुंगा भएको बताए । उनले भने, ’एउटा कम्पनीले ६ टोलीलाई मुख्य प्रायोजन भएको पहिलो पटक नै होला । यसले क्रिकेटलाई एकतह माथि पुर्याएको महसुस गरेको छु।’


