काठमाडौं । तीनवटै आयोजक राष्ट्र फिफा विश्वकप २०२६ बाट बाहिरिएका छन् । आयोजक राष्ट्रको रुपमा रहेका अमेरिका, क्यानडा र मेक्सिको विश्वकपको अन्तिम १६ बाट बाहिरिएका हुन् ।
मंगलबार बिहान भएको खेलमा बेल्जियमसँग ४–१ ले पराजित हुँदै अमेरिका प्रतियोगिताबाट बाहिरिएपछि आयोजकको चुनौती सकिएको हो । यसअघि क्यानडा र मेक्सिको पनि पराजय बेहोेरेर बाहिरिएका थिए । समूह चरणमा अष्ट्रेलिया र पाराग्वेलाई हराएको अमेरिका टर्कीसँग पराजित भएको थियो । समूह विजेता बन्दै अन्तिम ३२ मा पुगेको अमेरिकाले बोस्निया तथा हर्जगोभिनालाई पराजित गर्दै अन्तिम १६ मा पुगेको थियो ।
अपराजित रहँदै नकआउटमा पुगेको मेक्सिको इंग्ल्यान्डसँग पराजित हुँदा अन्तिम १६ बाट अघि बढ्न सकेन । समूह चरणमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकलाई हराएको मेक्सिकोले अन्तिम ३२ मा इक्वेडरलाई हराएको थियो । तर उपाधिको दाबोर मानिएको मेक्सिको अन्तिम १६ मा इंग्ल्यान्डसँग पराजित भयो ।
समूह चरणमा एक जित, एक हार र एक बराबरी खेलेको अर्को आयोजक देश क्यानडाले अन्तिम ३२ मा घरेलु मैदानमा दक्षिण अफ्रिकालाई हराएर ऐतिहासिक उपलब्धि प्राप्त गरेको थियो किनकी क्यानडाले पहिलोपटक नकआउट चरणमा जित दर्ता गरेको थियो । । तर, अन्तिम १६ मा मोरक्कोसँग पराजित भएपछि क्यानडाको विश्वकप यात्रा समाप्त भयो ।


