काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई राजस्व संकलनको लक्ष्य पुरा गर्नका लागि इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन् ।
सरकारको राजस्व संकलन गर्ने प्रमुख दुई निकाय भन्सार विभाग र आन्तरिक राजस्व विभागको नयाँ जिम्मेवारी पाएका महानिर्देशक यमलाल भुसाल र डा.भीष्मकुमार भुसाल तथा भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी पाएका सहसचिव प्रेमप्रसाद आचार्यलाई मन्त्रालयमा भेटेर उनले विशेष निर्देशन दिएका हुन् ।
सरकारको राजश्व लक्ष्य १६ खर्ब रुपैयाँ रहेको भन्दै यसलाई जसरी पनि भेट्नुपर्नेमा उनले जोड दिए । अर्थमन्त्री वाग्लेले भने, ‘व्यावसायिक वातावरण र मनोबल उच्च राख्दै राजस्वको लक्ष्य भेटिने गरी मिसन १६ खर्बका लागि इमानदारीपूर्वक लाग्नुहोस् । चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबैखाले सहयोग उपलब्ध गराउँछ ।’


