२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पूर्जि जारी

कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पूर्जि जारी

प्रतिशोध राखिएको शाहको दाबी

साझा पोष्ट
बिहीबार , असार ३२ २०८३
  • images
    images
    कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पूर्जि जारी

    बुटवल ।  कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । कपिलवस्तु जिल्ला अदालतले बिहीबार कुटपिट आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।


    images

    कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि आक्रमणको घटनामा कांग्रेस सांसद साह आरोपित छन् । कपिलवस्तुको कृष्णनगरमा शर्मामाथि सामूहिक आक्रमण भएको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले शाहविरूद्ध मुद्दा दर्ता भएर कानुनी प्रक्रिया अघि बढेको बताए। उनले  कुटपिटको घटनामा शाहविरूद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको र फरार मानेर खोजी कार्य जारी राखेको बताए।


    शाहले आफूविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको विषयमा गम्भीर आपत्ति जनाउँदै यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन् ।

    सामाजिक सञ्जालमार्फत एक सार्वजनिक अपील जारी गर्दै सांसद शाहले विपक्षीहरूको षड्यन्त्र र चुनावी हारको पीडाका कारण आफूलाई फसाउन खोजिएको दाबी गरेका हुन् ।

    उनले आफू निर्दोष रहेको उल्लेख गर्दै कसैलाई सहयोग गर्न जाँदाको प्रतिफल स्वरूप आफूमाथि यस्तो प्रपञ्च रचिएको बताएका छन् । ‘यो केवल एउटा राजनीतिक प्रतिशोध, चुनावी हारको पीडा, विपक्षीहरूको षड्यन्त्र र प्रशासनलाई समेत गुमराहमा पारी मेरो चरित्र हत्या गर्ने प्रपञ्च बाहेक अरु केही होइन,’ शाहले भनेका छन् ।

    उनले अगाडि थपेका छन्, ‘खाएको विष लाग्ने हो, नखाएको विष लाग्दैन । मलाई देशको संविधान, कानुन र सम्मानित न्यायालयप्रति पूर्ण विश्वास छ ।’

    सांसद शाहले केही दिनमै सत्यता बाहिर आउने विश्वास व्यक्त गर्दै कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । कानुनले निर्वाध रूपमा आफ्नो काम गर्नुपर्ने र आफू विधिसम्मत रूपमा कानुनी लडाइँ लड्न तयार रहेको उनको भनाइ छ ।

    आफूलाई माया गर्ने शुभचिन्तक र कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘आरोप लाग्नु र दोषी ठहर हुनु फरक कुरा हो । म सधैं तपाईंहरूको सेवामा विचलित नभई लाग्नेछु ।’ साथै, उनले आफ्ना समर्थकहरूलाई कानुनभन्दा बाहिरका कुनै पनि क्रियाकलाप नगर्न र धैर्यधारण गर्न विशेष अपिल समेत गरेका छन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार