काठमाडौं । नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार पाण्डेको शुक्रबार साँझ ७ बजेर ४० मिनेट जाँदा काठमाडौँको विशालनगरस्थित निवासमा निधन भएको हो। पाण्डे क्यान्सर रोगबाट पीडित थिए।
पाण्डेको भोलि शनिबार बिहान ११ बजे पशुपति आर्यघाटमा लगेर संस्कार गरिने जनाइएको छ। देवेन्द्रराज पाण्डे सुरुमा २०४६ र विशेषगरी २०६२–६३ को लोकतान्त्रिक आन्दोलनका प्रमुख नागरिक अगुवामध्ये एक थिए।
२०६२/०६३ सालको जनआन्दोलनमा उनको नागरिक समाजको तर्फबाट नेतृत्वदायी भूमिका थियो। त्यसपछि पनि लगातार सामाजिक आन्दोलनमा सक्रिय थिए।
नेपालको लोकतान्त्रिक तथा नागरिक आन्दोलन, नेपालको अर्थतन्त्र तथा विकास प्रशासन र सुशासनका क्षेत्रका पाण्डेको महत्वपूर्ण योगदान छ । २०४६ सालको आन्दोलनपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारमा २०४७ देखि २०४८ सम्म उनी अर्थमन्त्री थिए । सोही सरकारको पालामा नेपालको संविधान २०४७ बनेको थियो ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ सालमा शासनसत्ता हातमा लिएपछि लोकतन्त्रका पक्षमा नागरिकको तहबाट चलाइएको अभियानमा उनले अगुवाको भूमिका निर्वाह गरेका थिए । उनी सुशासन, लोकतन्त्र, विकास, भ्रष्टाचार नियन्त्रण र उत्तरदायी राज्य व्यवस्थाका पक्षधर थिए ।
अर्थसचिव भएका उनी तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापासँग विवाद भएपछि राजीनामा दिएका थिए । उनलाई नेपालका उत्कृष्ट अर्थ सचिवहरू मध्ये एक मानिन्छ ।


