काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी सन् २०२६ को पुरुष विश्वकपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। 'इन्टरनेसनल फेडरेसन अफ फुटबल हिस्ट्री एन्ड स्ट्याटिस्टिक्स' (IFFHS)ले मेसीलाई विश्वकपको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत सम्मान 'आईएफएफएचएस बेस्ट प्लेयर' प्रदान गरेको हो।
यो उपाधि खेलाडीको समग्र प्रदर्शन सूचकांकका आधारमा तय गरिएको आईएफएफएचएसले जनाएकाे छ। जसमा खेलको समय, गोल, एसिस्ट र नकआउट चरणमा परेको प्रभावलाई डाटामा आधारित कडा मापदण्डबाट विश्लेषण गरिएको थियो।
मेस्सीले अर्जेन्टिनाको विश्वकप यात्राका क्रममा सबै ७ खेल खेल्दै कुल ६२६ मिनेट मैदानमा बिताएका थिए। उनले ८ गोल गर्नुका साथै ४ वटा गोलका लागि पास (एसिस्ट) मिलाएका थिए।
कुल १२ गोलमा प्रत्यक्ष योगदान पुर्याएका मेसीको औसत म्याच रेटिङ ८.३३ थियो। समूह चरणदेखि फाइनलसम्म नै उनको निरन्तरको उत्कृष्ट प्रदर्शनका कारण उनी यो उपाधिका लागि हकदार बनेका हुन्।
आईएफएफएचएसले विशेष गरी नकआउट चरणमा देखाएको निर्णायक खेललाई बढी भार दिएर मूल्यांकन गरेको जनाएको छ। तथ्यांकमा आधारित प्रमाण र प्रदर्शनको निष्पक्ष रेकर्डका आधारमा मेसी अन्य सबै खेलाडीभन्दा उत्कृष्ट साबित भएको संस्थाले स्पष्ट पारेको छ।
सन् १९९१ देखि फुटबलका तथ्यांक र उत्कृष्टतालाई सम्मान गर्दै आएको संस्थाले मेस्सीलाई कुनै भावना वा नामका आधारमा नभई शुद्ध तथ्यांक र प्रमाणका आधारमा सर्वोत्कृष्ट घोषित गरिएको जनाएकाे छ ।


