२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थी भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो : आईजीपी कार्की

रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थी भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो : आईजीपी कार्की

साझा पोष्ट
शुक्रबार, साउन ८ २०८३
  • images
    images
    रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थी भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो : आईजीपी कार्की

    प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन् । 


    images


    सिंहदरबारमा शुक्रवार आयोजित संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक कार्कीले सीमा सुरक्षा र अपराध नियन्त्रणका सन्दर्भमा प्रहरीले भोग्नुपरेका समस्याबारे जानकारी गराएका हुन् ।


     महानिरीक्षक कार्कीकाअनुसार पछिल्लो समय रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढेको छ । नेपालका विभिन्न स्थानमा समूह बनाएर बस्ने गरेका यस्ता व्यक्तिहरू लागुऔषध कारोबार लगायतका सुरक्षा संवेदनशीलता उत्पन्न गर्ने क्रियाकलापमा संलग्न रहेको पाइएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याएको छ । 


    उनले भने ‘सीमावर्ती क्षेत्रको सुरक्षाका सन्दर्भमा रोहिङ्ग्या शरणार्थीको विषय पनि चुनौतीका रूपमा देखिएको छ । भारततर्फबाट नेपाल प्रवेश गरी विभिन्न स्थानमा बसोवास गर्ने प्रयास गर्ने रोहिङ्ग्यासहित अन्य देशका नागरिकलाई पहिचान गरी नियन्त्रणमा लिई सम्बन्धित निकायलाई बुझाउने काम भइरहेको छ । उनीहरूमध्ये केही लागुऔषध कारोबारजस्ता अपराधमा संलग्न रहेको पाइएको छ ।'


    बैठकमा उनले दक्षिण सीमाबाट मल खरिद गर्ने क्रममा केही नेपालीहरू तस्करीको अभियोगमा भारतीय प्रहरीको हिरासतमा रहेको जानकारी दिए । यस विषयमा ‘पुलिस टू पुलिस’ समन्वय र कुटनीतिक प्रयास भइरहेको र कानूनी प्रक्रिया पूरा गरी उनीहरू छिट्टै रिहा हुने अवस्थामा रहेको उनले बताए ।


    कानूनी जटिलताका बारेमा चर्चा गर्दै महानिरीक्षक कार्कीले चोरी जस्ता मुद्दामा वाह्य क्षेत्राधिकारको अभावमा अनुसन्धानमा समस्या परेको स्पष्ट पारे  । सीमा क्षेत्रमा हुने अवैध हातहतियारको ओसारपसार, लागुऔषध तस्करी, र साइबर स्क्यामिङलाई पनि प्रहरीले प्रमुख चुनौतीका रूपमा लिएको छ । विशेषगरी वैदेशिक रोजगारीको प्रलोभन देखाई हुने ठगी र ओटीपी (इत्ए) मार्फत हुने बैंकिङ फ्रडका कारण सर्वसाधारणले अर्बौं रुपैयाँ गुमाउनुपरेको बताए । विद्वान वर्ग समेत यस्ता अनलाइन स्क्यामिङ र बेटिङको पासोमा पर्ने गरेको भन्दै उनले सचेतनाका लागि आग्रह गरे । 


    महानिरीक्षक कार्कीले भने' हालै दक्षिणी सीमामा मल खरिद–बिक्रीसँग सम्बन्धित तस्करी प्रकरणमा पक्राउ परेका नेपाली नागरिकको विषयमा प्रहरी–प्रहरी समन्वय र कुटनीतिक पहलमार्फत आवश्यक प्रक्रिया अघि बढाइएको छ । सीमापार हुने केही अपराधमा नेपालको कानूनले क्षेत्र वाह्य अधिकार नदिएकाले अनुसन्धान र कारबाहीमा कठिनाइ हुने गरेको छ । विशेषगरी चोरीजस्ता मुद्दामा यो कानुनी सीमाले चुनौती सिर्जना गरेको छ । खुला सीमाका कारण हातहतियार तथा लागुऔषध तस्करी, अन्तरदेशीय संगठित अपराध, साइबर ठगी, अनलाइन स्क्यामिङ, मानव बेचबिखन, अवैध वैदेशिक रोजगारी, बैंकिङ ठगी, अनलाइन सट्टेबाजीजस्ता गतिविधि बढ्दो चुनौतीका रूपमा रहेका छन् । यी चुनौती नियन्त्रण गर्न नेपाल प्रहरीले नियमित गस्ती, निगरानी र संयुक्त सुरक्षा अभियानका साथै ड्रोन, स्क्यानर र तालिमप्राप्त कुकुर (के–९) जस्ता प्रविधिको प्रयोग गर्दै सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै आएको छ ।’

    वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति नभएका व्यक्तिहरू खुल्ला सीमाको फाइदा उठाउँदै भारत भएर तेस्रो मुलुक जाने गरेको र यसले मानव तस्करीको जोखिम बढाएको महानिरीक्षक कार्कीको भनाइ छ । सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याउन नेपाल प्रहरीले नियमित गस्तीका साथै आधुनिक प्रविधिको प्रयोगलाई तिब्रता दिएको छ । उपकरणको सीमितताका बाबजुद पनि संवेदनशील स्थानहरूमा ड्रोन, स्क्यानर र तालिमप्राप्त कुकुर (केनाइन) परिचालन गरी निगरानी बढाइएको उनले जानकारी दिए । –न्युज एजेन्सी नेपाल

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार