काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले एकै दिनमा सत्ता उल्ट्याउन गरी लाग्न वामपन्थी शक्तिहरूलाई अपिल गरेका छन् ।
पुष्पलाल स्मृति दिवसको सन्दर्भमा शुक्रबार काठमाडौंमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरुको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै प्रचण्डले सत्ता उल्ट्याउन सम्भव रहेको बताए । त्यसो गर्न सम्भव छ भन्ने कुरा अहिले सत्तामा रहेकाहरूले सिकाइसकेको प्रचण्डले बताए ।
’सदनमा लड्ने, आउने निर्वाचनबाट लड्ने, चारैतिरबाट घेरा हाल्ने। हामी हाम्रै तरिकाले लड्ने हो तर एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ भनेर त उनीहरूले नै सिकाएका छन्,’ संयोजक प्रचण्डले भने, ’यताबाट किन नसोच्ने? सबैले सोच्नुपर्यो, नत्र बर्बाद हुन सक्छ। किनभने प्रतिक्रान्तिको प्रक्रिया पूरा भएको छैन। उनीहरू पनि पूरा गर्ने तयारीमा छन्,।’
उनले त्यसका लागि सबै वामपन्थीहरूले साझा न्यूनतम कार्यक्रम बनाउने र हरेक पार्टीले आफ्नो क्षमताअनुसार राजधानी काठमाडौं र जिल्ला सदरमुकामहरूमा कार्यकर्ता ओराल्नुपर्ने बताए।
प्रतिक्रान्ति अझै पूरा नभइसकेकाले त्यसलाई परास्त गर्न एकै दिनमा सत्ता उल्ट्याउने गरी लाग्नुपर्नेमा उनले जोड दिए ।
’हरेक पार्टीले आफ्नो क्षमताअनुसार ५/७ लाख मान्छे काठमाडौंमा र हरेक सदरमुकाममा एक/डेढ लाख उतारेर गर्यौं भने एकै दिनमा उल्ट्याउन सकिँदैन त?,’ उनले भने।
तर सरकार गिराउने र बनाउने खेलमा फेरि लागियो भने अर्को प्रतिक्रान्तिमा उठ्नै नसक्ने गरी थेचारिने उनले बताए।


