२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम

काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम

साझा पोष्ट
शनिबार, साउन ९ २०८३
  • images
    images
    काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम

    झापा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको काँकडभिट्टा–लौकही सडक खण्डको स्तरोन्नति कार्यले तिब्रता पाएको छ । 
    एशियाली विकास बैंक (एडिबी) को ४६ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माणाधीन यस सडकको पूर्वी खण्डमा हाल धमाधम कालोपत्रे गर्ने कार्य भइरहेको हो । सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडिबी) मार्फत पाँचवटा प्याकेजमा विभाजन गरी ९५ किलोमिटर लामो यस सडकको विस्तार कार्य अघि बढाइएको हो ।


    images

     आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा बाँडिएको छ । पूर्वी खण्ड अन्तर्गत काँकडभिट्टादेखि झापाको सीतापुरीसम्म ४५ किलोमिटर र पश्चिम खण्ड अन्तर्गत सितापुरीदेखि सुनसरीको लबीपुरसम्म ५० किलोमिटर सडक छ । आयोजनाले दिएको पछिल्लो विवरणअनुसार पहिलो प्याकेज (काँकडभिट्टा–सीतापुरी) को भौतिक प्रगति ४७ प्रतिशत पुगेको छ। त्यस्तै, दोस्रो प्याकेज (सीतापुरी–गोठगाउँ) को प्रगति ४२ प्रतिशत र तेस्रो प्याकेज (मोरङको गोठगाउँदेखि सुनसरीको लबीपुरसम्म) को भौतिक प्रगति १९ प्रतिशत छ । 

    काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) का प्रमुख सुनिल पन्तकाअनुसार हालसम्म पूर्वी खण्डमा साढे १६ किलोमिटर सडकको पहिलो तहको कालोपत्रे सम्पन्न भइसकेको छ । मौसमले साथ दिए एक हप्तामा गर्नसक्ने कालोपत्रे ७ किलोमिटर सडक रहेको बताउनु भयो । दशैँसम्म थप १५ किलोमिटर कालोपत्रे हुने उनले बताए । 

    उनले भने, ‘हामीले ४४.३ किलोमिटरमध्ये ११ किलोमिटर सडकमा चारै लेनको पहिलो तह (५ सेन्टिमिटर बाक्लो डेन्स बिटुमिनस म्याकाडम–डिबिएम) कालोपत्रे गरिसकेका छौँ । बाँकी ५ किलोमिटरमा दायाँ वा बायाँ तर्फको काम सकिएको छ । अहिले ५–६ किलोमिटर सडक कालोपत्रेका लागि तयारी अवस्थामा छ, मौसम अनुकूल हुनासाथ एक साताभित्रै सो कार्य सम्पन्न हुनेछ ।’

    मौसमले साथ दिएमा दैनिक ४ सयदेखि ८ सय मिटरसम्म कालोपत्रे गर्ने लक्ष्य राखिएको छ । निर्माण व्यवसायीसँग पर्याप्त बिटुमिन मौज्दात रहेकाले आगामी दसैँसम्ममा थप १५ किलोमिटर सडक कालोपत्रे गरिसक्ने योजना आयोजनाको छ । सन् २०२४ फेब्रुअरी २ देखि निर्माण शुरु गरिएको यस सडकको स्तरोन्नति कार्य २०२७ फेब्रुअरी १ भित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ । हाल सडकको बीच भागमा ३ मिटरको ‘मिडियन’ (डिभाइडर) राखेर दुवैतर्फ विस्तार गर्ने काम भइरहेको छ । वर्षातका कारण केही अवरोध भएपनि निर्माण कार्यलाई निरन्तरता दिइएको आयोजनाले जनाएको छ ।–न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार