काठमाडौं, साउन १२ । चीनको राजधानी बेइजिङमा रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागढुङ्गा सुरुङ्गमार्ग सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै आफ्नो पालामा यसको योजना बनेको बताएका छन् । खनालले नागढुङ्गा सुरुङ्गमार्ग निर्माण गर्ने विषय आफू प्रधानमन्त्री पदमा बहाली हुँदा पहिलो निर्णयस्वरुप हस्ताक्षर गरेको उल्लेख गरेका छन् । खनालद्वारा प्रेषित प्रेस नोटमा भनिएको छ, ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको समाचारले अत्यन्त खुसी र गौरवान्वित बनाएको छ।’
उनले सुरुङमार्गले नेपालको पूर्वाधार विकासमा नयाँ अध्यायको सुरुवात गर्दै सुरक्षित, सहज र आधुनिक यातायात प्रणाली निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरेका छन् ।
उनले आफ्नो नेतृत्वमा सरकार गठन हुँदा प्रधानमन्त्रीको कार्यभार सम्हालेको दिन हस्ताक्षर गरेको पहिलो फाइल सुरुङमार्ग रहेको बताएका छन् । उनले भनेका छन्, ‘२०६८ सालमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण गर्ने नीतिगत निर्णय गरियो र आर्थिक वर्ष २०६८–६९ को बजेटमार्फत आयोजनाका लागि बजेट विनियोजन गरिएको थियो।’
उनले बिगतदेखि नै काठमाडौँ भित्रिने र काठमाडौँबाट बाहिरिने सवारीसाधनले वर्षौंदेखि भोग्दै आएको अत्यधिक ट्राफिक जाम र अव्यवस्थित यातायातको समस्या नजिकबाट अनुभव गरेको बताउँदै दीर्घकालीन र दिगो समाधान खोज्नुपर्छ भन्ने सोचका साथ निरन्तर प्रयत्न र सोचमा रहेको बताएका छन् । उनले दीर्घकालीन सोच र राष्ट्रिय आवश्यकताले मूर्त रूप लिएको बताउँदै सम्पूर्ण नेपालीका लागि गौरवको विषय भएको बताएका छन् ।
‘मैले देखेको सपना साकार भएको अनुभूति भएको छ,’ उनले भनेका छन्, ‘यस ऐतिहासिक आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउने विभिन्न समयमा बनेका सरकारहरू, सम्पूर्ण प्राविधिक, निर्माणकर्मी, कर्मचारी, जापान सरकार तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सबै महानुभावप्रति हार्दिक धन्यवाद तथा बधाई व्यक्त गर्दछु।’


