काठमाडौं, साउन १३ । आईसीसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको त्रिकोणात्मक शृंखलामा नेपालले सबै चार खेल हारेको छ ।
शृंखलाको अन्तिम तथा चौथो खेलमा नेपाल घरेलु टिम नेदरल्यान्ड्ससँग ५७ रनले पराजितभएसँगै श्रृंखलामा जितविहीन भएको हो । नेपाल अन्तिम खेलमा पनि खराब ब्याटिङकै कारण पराजित भयो ।
बुधबार शृंखलाको अन्तिम खेलमा घरेलु टिम नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा अलआउट हुँदै १६८ रनमै सीमित भयो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए । यस्तै, कप्तान रोहित पौडेलले २६, करण केसीले २३, इशान पाण्डेले १६ रन जोड्दा हेमन्त धामी १५ रनमा नटआउट रहे । गुल्सन झाले ११ रन जोड्दा भीम सार्की १० रन जोडेर पेभिलियन फर्किए ।
ओपनर कुशल भुर्तेलले खातानै खोल्न सकेनन् ।
नेदरल्यान्ड्सका लागि काइल क्लेनले ३ तथा लोगान भ्यान बेक, रोलोफ भान डर मर्वे र ज्याक लायन–क्याचेटले समान २–२ विकेट लिए । यस्तै, आर्यन दत्तल १ विकेट हात पारे ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टिम नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२५ रन बनाएको थियो ।
नेदरल्यान्ड्सका लागि नोआ क्रोएसले सर्वाधिक ७० र कप्तान स्कट एडवड्र्सले ५७ रनको योगदान दिए । यस्तै, लोगान भ्यान बेकले २७ रनको योगदान दिँदा ज्याक लायन–क्याचेटले १६, बास डे लिडेले १३ र म्याक्स ओ’डाउडले १२ रनको योगदान दिए ।
नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए । यस्तै, दीपेन्द्रसिंह ऐरीले २ तथा हेमन्त धामी र ललितनारायण राजवंशीले समान १–१ विकेट लिए ।
नेदरल्यान्ड्सविरुद्धको खेलमा अनुभवी फास्ट बलर सोमपाल कामी र लेगस्पिनर सन्दीप लामिछानेको ठाउँमा हेमन्त धामी र ललित राजवंशीलाई मौका दिइएको थियो । शृंखलाका चार खेलमै हार ब्यहोरेपछि नेपाल आठ राष्ट्र सहभागी विश्वकप लिग–२ को अंक तालिकामा ३२ खेलबाट २४ अंकका साथ छैटौँ स्थानमा छ । नेपालले ३२ खेल खेल्दा ११ जित निकाल्दा १९ खेलमा हार ब्यहोरेको छ ।
३२ खेलबाट ४३ अंकका साथ अमेरिका शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा उक्लिएको नेदरल्यान्ड्सको ३१ खेलबाट ३८ अंक छ । ३२ खेलबाट समान ३८ अंक जोडेको स्कटल्यान्डको तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको ओमानको २८ खेलबाट ३१ अंक छ । ३१ खेलबाट २६ अंक जोडेको नामिबिया भने पाँचौँ स्थानमा छ ।
नेपालभन्दा पछाडि क्यानडा र यूएई छन् । क्यानडाको २८ खेलबाट २४ अंक छ भने पुछारमा रहेको यूएईको २४ खेलबाट १४ अंक छ ।


