काठमाडौं,साउन १५ । सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपको असर अरु जिल्लामा पनि फैलिएको छ । सिरहा, धनुषा, पर्सा र सप्तरीमा यसको असर देखिएको छ । र, यी जिल्लाको
सुरक्षा अवस्था संवेदनशील बनेपछि जिल्ला सुरक्षा समितिको सिफारिसमा जारी गरेको कर्फ्यु आदेश आज पनि कायम छ ।
हिजो सिरहाको गोलबजारबाट सुरु भएको हिंसात्मक घटनाले विभिन्न स्थानमा तोडफोड, आगजनी, लुटपाट तथा झडप भएको छ । ।
घटनाका क्रममा हालसम्म मधेश प्रदेशमा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्।स्थिति थप जटिल बन्न नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेत उच्च सतर्कतामा परिचालन गरिएको छ।
संवेदनशील क्षेत्रमा सुरक्षा गस्ती बढाइएको छ भने स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयहरूले सुरक्षा अवस्थाको निरन्तर मूल्याङ्कन भइरहेको जनाउँदै शान्ति–सुरक्षाको अवस्था सामान्य नभएसम्म कर्फ्यु आदेश यथावत् रहने संकेत दिएका छन्।
प्रशासनले अफवाहमा विश्वास नगर्न, सामाजिक सञ्जालमा भ्रामक सामग्री नफैलाउन तथा कुनै पनि शंकास्पद गतिविधिको जानकारी तत्काल सुरक्षा निकायलाई दिनसमेत अनुरोध गरेको छ।


