काठमाडौं, साउन १९ । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विभिन्न सञ्चारमाध्यममा राजनीतिक विषयमा कलम चलाउने पत्रकारहरूसँग आज अन्तरक्रिया गर्ने भएका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा अपराह्न ३ बजे आयोजना हुने अन्तरक्रियामा सूचना प्रवाहमा देखिएका समस्या, चुनौती, नीतिगत सुधार तथा सरकार र सञ्चारमाध्यमबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने शिक्षामन्त्री पोखरेलको सचिवालयले जनाएको छ।
मन्त्रालयका अनुसार छलफलमा सरकारी सूचना प्रवाहलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उपाय, समाचार सम्प्रेषणका क्रममा पत्रकारहरूले भोग्दै आएका चुनौती तथा सूचना प्रवाहलाई अझ सहज र विश्वसनीय बनाउने विषयमा विचार आदानप्रदान गरिने छ।
अन्तरक्रियामा विभिन्न मिडियामा राजनीतिक बिट हेर्ने पत्रकारहरुलाई आमन्त्रण गरिएको सचिवालयले जनाएको छ।
मन्त्री पोखरेलले पछिल्लो समय शिक्षा तथा सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला, सञ्चारमाध्यम, शिक्षा तथा राजनीतिक बिटका पत्रकार, शैक्षिक संस्था र निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्दै सुझावसमेत लिँदै आएका छन्।
प्राप्त सुझावहरूका आधारमा मन्त्री पोखरेलले नीतिगत सुधार, पारदर्शिता र प्रभावकारी समन्वयलाई प्राथमिकता दिँदै आएका दावी सचिवालयको छ।
मन्त्रालयले यस्ता संवादले सरकार र सञ्चारमाध्यमबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।


