२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै गएको प्रधानमन्त्रीको दाबी

राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै गएको प्रधानमन्त्रीको दाबी

साझा पोष्ट
शनिबार, साउन २३ २०८३
  • images
    images
    राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै गएको प्रधानमन्त्रीको दाबी

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले वर्षौंदेखि घाटामा रहेका र बन्द अवस्थामा पुगेका नेपालका राष्ट्रिय उद्योग तथा सार्वजनिक संस्थानहरूमा क्रमिक सुधार देखिन थालेको दाबी गरेका छन् । 
    पछिल्ला केही दिनयता बजारमा एलपी ग्याँसको अभाव देखिएको भन्दै सरकारमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री बालेन शाहले भने राष्ट्रिय उद्योग तथा संस्थानमा सुधारका प्रयास भइरहेको दाबी गरेका छन् ।


    images

    प्रतिनिधिसभामा शुक्रवार सरकारको कामकारबाही र बजारमा देखिएको ग्याँस अभावबारे रास्वपाकै सांसदहरुले समेत  प्रश्न गरेपछि प्रधानमन्त्री शाहले आज बिहान लामो फेसबुक स्टाटस लेख्दै बन्द तथा घाटामा रहेका सरकारी उद्योग र संस्थान सुधारको दिशामा अघि बढेको दाबी गरेका हुन् ।

    इमान्दारिता, कानुनको कार्यान्वयन र निरन्तरको ‘टिमवर्क’का कारण चुनौतीपूर्ण अवस्थामा पनि यी संस्थानहरू पुनः जीवन्त र प्रतिस्पर्धी बन्न थालेको उनको दाबी छ । 
    तर, नियत सफा राखेर जिम्मेवारीप्रति इमान्दार हुने हो भने चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खोल्न सकिने उनको दाबी छ।
    प्रधानमन्त्री शाहले फेसबुकमा लेखेका छन, “वर्षौंसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा दुई करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ ।  विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड प्राप्त गरेपछि गत आर्थिक वर्षमा कम्पनी तीन करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।” 

    उनका अनुसार सरकारले आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य लिएको छ, जसमा यस वर्ष मात्र ३७ प्रकारका औषधि उत्पादन गर्ने तयारी भइरहेको छ ।

    बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । केही मात्रामा कपडा उत्पादन सुरु भइसकेको उनले बताएका छन् । 

    नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको उनले बताएका छन् । अघिल्लो वर्षको तुलनामा यो एक  अर्ब १० करोड रुपैयाँले बढी हो । 

     निगमको सिट उपयोगिता (अकुपेन्सी) ८६ प्रतिशत पुगेको छ भने यस अवधिमा जहाज खरिदको ऋणबापत एक अर्ब ६ करोड रुपैयाँ किस्ता समेत भुक्तानी गरिएको प्रधानमन्त्री बालेनले बताएका छन् ।

    दुग्ध विकास संस्थानले किसानहरूको बक्यौता भुक्तानी चक्रलाई ८ महिनाबाट घटाएर २–३ महिनामा झारेको उनको दाबी छ । संस्थानको दैनिक राजस्व संकलन ६० लाखबाट बढेर ९० लाख रुपैयाँ पुगेको छ । अनावश्यक कर्मचारी सुविधा कटौती गरी वार्षिक झण्डै तीन करोड रुपैयाँ बचत गरिएको भन्दै उनले खाडी मुलुक र चीनमा घ्यू, बटर र छुर्पी निर्यात गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

    सिंहदरबार वैद्यखाना विकास समितिले गत आर्थिक वर्षमा १३ करोड रुपैयाँ बराबरको आयुर्वेदिक औषधिको कारोबार गरेको उनले बताएका छन् । जुन अघिल्लो वर्षको तुलनामा ४ गुणा बढी हो । हाल १०५ प्रकारका औषधि उत्पादन भइरहेकोमा यस वर्ष १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य छ ।
     

    ">

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार