काठमाडौं,साउन २३ । वर्षौंदेखि बन्द हेटौंडा कपडा उद्योगमा कपडा बुन्ने पुराना तान (लुम) फेरि चल्न थालेका छन् ।
उद्योगमा पुराना मेसिन मर्मत गरी आज शनिबार सफल परीक्षण उत्पादन सुरु गरिएको प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले जानकारी दिएका छन् ।
परियारका अनुसार नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन तथा तानहरूको मर्मतसम्भार गरी परीक्षण उत्पादन सुरु गरिएको छ ।
लामो समयदेखि थन्किएका मेसिन सञ्चालनमा आएपछि उद्योग परिसरमा फेरि कपडा बुन्ने तानको ‘खट्खट्’ आवाज सुनिन थालेको परियारले आफ्नो सामाजिक सञ्जालमा तान चलेको भिडियो सामग्री राख्दै उल्लेख गरेका छन् ।
हेटौंडा कपडा उद्योग लामो समयदेखि बन्द रहेकाले त्यहाँका मेसिन, विद्युत् प्रणाली तथा भौतिक संरचना जीर्ण अवस्थामा पुगेका थिए । पछिल्लो समय उद्योग परिसरको सरसफाइ, विद्युत् प्रणाली मर्मत तथा मेसिन परीक्षणको काम अघि बढाइएको थियो ।


