२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

'मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यासको अभाव', अनावश्यक सञ्चय गरी कृत्रिम अभाव सिर्जना नगर्न व्यवसायीको आग्रह

'मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यासको अभाव', अनावश्यक सञ्चय गरी कृत्रिम अभाव सिर्जना नगर्न व्यवसायीको आग्रह

साझा पोष्ट
मंगलबार, साउन २६ २०८३
  • images
    images
    'मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यासको अभाव', अनावश्यक सञ्चय गरी कृत्रिम अभाव सिर्जना नगर्न व्यवसायीको आग्रह
    गोकुल भण्डारी,प्रबन्ध सञ्चालक, नेपाल ग्यास उद्योग प्रा.लि.

    काठमाडौं,साउन २६ । पेट्रोलियम र विष्फोटक पदार्थ सम्बन्धी कानूनको अभावमा विदेशी मापदण्डकै भरमा नेपाली उद्योग
    नेपालमा खाना पकाउने ग्यास (एलपीजी) को आयात र आपूर्ति नियमित भन्दा बढी भएपनि बजारमा कृत्रिम अभाव देखिएको छ । 
    नेपाल आयल निगम र ग्यास उद्योगीहरूकाअनुसार दैनिक मागको तुलनामा आयात बढी भइरहेको अवस्थामा उपभोक्ताहरूले अनावश्यक रूपमा सिलिण्डर सञ्चय (होर्डिङ) गर्दा आपूर्ति प्रणालीमा समस्या देखिएको हो । नेपाल ग्यास उद्योग प्रा.लि.का प्रबन्ध सञ्चालक गोकुल भण्डारीकाअनुसार नेपालको सामान्य मासिक खपत करिव ३५ लाख सिलिण्डर रहेको छ, जसअनुसार दैनिक १ लाख १० हजार सिलिण्डरको माग हुने गर्दछ । तर वर्तमान तथ्याङ्क हेर्दा नेपाल आयल निगमले दैनिक १ लाख ३० हजार सिलिण्डर बराबरको ग्यास आयात गरिरहेको छ । नियमित खपतभन्दा दैनिक २० हजार सिलिण्डर बढी बजारमा पठाइए पनि उपभोक्तामा देखिएको मनोवैज्ञानिक त्रास र सञ्चय गर्ने प्रवृत्तिका कारण बजार अझै सहज हुन सकेको छैन । 


    images


    विगतमा ७ किलोका आधा सिलिण्डर वितरण गर्ने निर्णय कार्यान्वयनमा आउन चार महिना ढिलाइ हुँदा आयातमा कमी आएको र उपभोक्ताको घरमा भएको मौज्दात रित्तिएको थियो । सो अवधिमा करिव ३० हजार मेट्रिक टन अर्थात् २१ लाख सिलिण्डर बराबरको आयात कम भएको थियो । अहिले अवस्था सामान्य हुँदा पनि सोही रिक्तता पूर्ति गर्न र भविष्यमा अभाव हुने डरले उपभोक्ताले एकैपटक धेरै सिलिण्डर भर्न खोज्दा समस्या जटिल बनेको भण्डारीको विश्लेषण छ । 


    बजारमा हाल १ करोड ७५ लाख थान सिलिण्डरहरू अस्तित्वमा रहेका छन् । यो संख्या नेपालको पाँच महिनाको कुल खपत धान्न पर्याप्त हो । यद्यपि ती सबै सिलिण्डरहरू उद्योगसँग नभई उपभोक्ताका घरमा खाली वा आधा भरिएको अवस्थामा रहेका छन् । कुल जनसंख्याको ४० प्रतिशतले मात्र ग्यास प्रयोग गर्ने भए तापनि सञ्चय गर्ने मेन्टालिटीका कारण विद्यार्थी र न्युन आय भएका वर्ग, जोसँग सिमित सिलिण्डर छन्, उनीहरू बढी मारमा परेका छन् । 
    भण्डारीकाअनुसार कतिपय उपभोक्ता र खुद्रा विक्रेताले अनावश्यक रूपमा ग्यास थुपार्ने गरेका छन् । काठमाडौंको बालाजु लगायतका क्षेत्रमा लागेका लाइनमा वास्तविक समस्यामा परेका उपभोक्ताभन्दा पनि अनावश्यक स्टक राख्न चाहने र एउटै व्यक्ति पटक–पटक आउने गरेको पाइएको छ । 


    आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन उद्योगीहरूले दैनिक रिपोर्टिङ शुरु गरेका छन् । कुन उद्योगले कति आयात ग¥यो र कुन डिलरलाई कति परिमाणमा ग्यास पठायो भन्ने विवरण आयल निगमलाई उपलब्ध गराउन थालिएको छ । अब कुन विक्रेताले कुन ग्राहकलाई ग्यास बेच्यो भन्ने रेकर्ड समेत राख्न सरकारले निर्देशन दिएको छ, जसको कार्यान्वयन प्रक्रिया अघि बढेको व्यवसायीहरूले बताएका छन् । यसले ग्यासको न्यायोचित वितरण सुनिश्चित गर्ने र कालोबजारी रोक्ने अपेक्षा गरिएको छ ।

     
    ग्यास अत्यावश्यक वस्तु भएको र यसमा निजी क्षेत्रको शतप्रतिशत लगानी रहेकाले यसलाई व्यवस्थित गर्न राज्यको भुमिका महत्वपूर्ण हुने प्रवन्ध सञ्चालक गोकुल भण्डारी बताउँछन । पेट्रोलियम पदार्थको जस्तै ग्यासको पनि भण्डारण क्षमता वृद्धि गर्न सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा जानुपर्ने र भारतबाट पाइपलाइन मार्फत ग्यास ल्याउने योजना अघि बढाउनुपर्नेमा उनले जोड दिए । नेपालमा ग्यासको आयात पूर्ण रूपमा भारत सरकारसँगको जी–टु–जी (सरकार–सरकार) सम्झौतामा आधारित रहेकाले आपूर्ति बढाउन सरकारी स्तरबाटै थप पहल आवश्यक रहेको उनको बुझाइ छ ।

     

    gokul_bhandari.jpg
    उनले हालको अवस्था नाकाबन्दी वा कोभिड–१९ को समयको जस्तो अभावको स्थिति नभएको स्पष्ट पार्नुभयो । अहिले ग्यासको आयात नियमित र मागभन्दा बढी रहेको र यदि उपभोक्ताले १५ दिन वा एक महिनालाई पुग्ने मौज्दात हुँदाहुँदै थप सिलिण्डर माग नगर्ने हो भने यो समस्या केही दिनभित्रै समाधान हुने बताए । अनावश्यक होर्डिङ नगर्न र अत्यावश्यक परेका व्यक्तिहरूलाई सहज रूपमा ग्यास पाउन दिनका लागि जिम्मेवार नागरिकको भुमिका निर्वाह गर्न समेत उनले आग्रह गरे । उद्योगीहरूले आपूर्ति व्यवस्थालाई दुरुस्त राख्न र वितरण च्यानललाई पारदर्शी बनाउन आफूहरू प्रतिवद्ध रहेको समेत  बताए ।

    उनी भन्छन, ‘पहिले ७ किलोको आधा सिलिण्डरमा जाने निर्णय भएपनि विभिन्न कारणले त्यसको कार्यान्वयन चार महिना ढिला भयो । यस अवधिमा करिब ३० हजार मेट्रिक टन ग्यास कम आयात भयो, जुन करिव २१ लाख सिलिण्डर बराबर हो । तर खपत भने यथावत् रहँदा उपभोक्ताको घरमा रहेको सिलिन्डर स्टक घट्दै गयो । पछि १४.२ किलोको सिलिण्डरमा फर्किएपछि खाली सिलिण्डर भर्नुपर्ने भएकाले अहिलेको माग अस्वाभाविक रूपमा बढेको हो । नेपालको सामान्य मासिक खपत करिव ३५ लाख सिलिण्डर अर्थात दैनिक करिव १ लाख १० हजार सिलिण्डर हो । अहिले दैनिक करिव १ लाख ३० हजार सिलिण्डर आयात तथा वितरण भइरहेको छ, अर्थात सामान्य खपतभन्दा दैनिक २० हजार सिलिण्डर बढी बजारमा गइरहेको छ । त्यसैले अहिलेको समस्या ग्यासको आयातमा कमी भएर होइन, उपभोक्ताले स्टक राख्न खोज्दा वास्तविक आवश्यकताअनुसार ग्यास वितरण हुन नसकेर भएको हाम्रो बुझाइ छ । उद्योगहरूले दैनिक आयात र डिलरलाई बिक्री गरेको विवरण आयल निगमलाई दिइरहेका छन् । अब कुन डिलरले कुन उपभोक्तालाई कति ग्यास बिक्री ग¥यो भन्ने विवरण पनि व्यवस्थित रूपमा बुझाउने प्रक्रिया सुरु भएको छ । यसले वास्तविक आवश्यकता भएका उपभोक्तालाई प्राथमिकता दिन सहयोग गर्नेछ । नेपालभर करिव १ करोड ७५ लाख सिलिण्डर छन्, जुन सामान्य खपतका आधारमा करिव पाँच महिनाको सिलिण्डर स्टक हो । यी सिलिण्डर निजी क्षेत्रको लगानीमा बजारमा रहेका महत्वपूर्ण पूर्वाधार हुन् । राज्यले पनि यसलाई रणनीतिक स्टकका रूपमा हेर्नुपर्छ ।  दीर्घकालीन रूपमा राज्य र निजी क्षेत्रको सहकार्यमा ग्यास भण्डारण, पूर्वाधार तथा पाइपलाइन विकास गर्न आवश्यक छ । अहिलेको तत्काल समाधान भनेको आवश्यकताभन्दा बढी ग्यास आयात भइरहेको अवस्थालाई निरन्तरता दिनु, भारत सरकारसँग थप आयातका लागि पहल गर्नु र वितरण प्रणालीलाई व्यवस्थित गर्नु हो । दैनिक १ लाख १० हजार सिलिण्डर खपत हुने ठाउँमा १ लाख ३० हजार सिलिण्डर आइरहेको छ भने समस्या ग्यासको अभावभन्दा पनि आवश्यक उपभोक्तासम्म ग्यास नपुग्नु हो । डिलरसँग उपभोक्ताको खपत र अघिल्लो पटक ग्यास लिएको विवरण हुने भएकाले वास्तविक आवश्यकताअनुसार वितरण गर्ने सबैभन्दा प्रभावकारी माध्यम डिलर प्रणाली नै हो । बालाजु लगायतका स्थानमा सञ्चालन गरिएका प्रत्यक्ष विक्री केन्द्र अत्यावश्यक भएर डिलरबाट ग्यास पाउन नसकेका उपभोक्ताका लागि आपत्कालीन व्यवस्था हुन् । तिनलाई अनावश्यक रूपमा प्रयोग गर्नु हुँदैन । अहिले उद्योगीहरूको स्पष्ट सन्देश छ–ग्यासको आयात नियमित छ र आवश्यकताभन्दा बढी नै भइरहेको छ । समस्या मुख्यतः अनावश्यक स्टक तथा होर्डिङका कारण भएको हो । त्यसैले जसको घरमा १५ दिनदेखि एक महिनासम्मको ग्यास स्टक छ, उहाँहरूले तत्काल थप ग्यास नलिने हो भने वास्तविक आवश्यकता भएका उपभोक्ताले ग्यास पाउनेछन् र अहिलेको समस्या छिट्टै सामान्य अवस्थामा फर्किन सक्छ ।’

    gokul_bhandari.jpg

    पेट्रोलियम र विष्फोटक पदार्थ सम्बन्धी कानूनको अभावमा विदेशी मापदण्डकै भरमा नेपाली उद्योग

    नेपालमा पेट्रोलियम र विष्फोटक पदार्थ सम्बन्धी ठोस कानूनको अभावका कारण यहाँका उद्योगहरू विदेशी मापदण्डका आधारमा सञ्चालन गर्नुपर्ने बाध्यता देखिएको छ । हालसम्म नेपालमा आफ्नै ‘एक्सप्लोसिभ एक्ट’ (विष्फोटक पदार्थ ऐन) वा ‘पेट्रोलियम एक्ट’ (पेट्रोलियम ऐन) नहुँदा स्वदेशी ग्यास उद्योगहरू भारतीय निकायको प्रमाणीकरण र भारतीय कानूनकै आधारमा स्थापना एवं सञ्चालन भइरहेका छन् ।

    नेपालमा उद्योगहरूको प्रभावकारी अनुगमन गर्ने राज्यको आफ्नै संयन्त्र र स्पष्ट कानूनी व्यवस्था नहुँदा ग्यास उद्योगहरू पूर्णतः विदेशी एजेन्सीको मापदण्डमा निर्भर रहनुपरेको प्रवन्ध सञ्चालक भण्डारीले बताए । यस समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न नीतिगत सुधार र आफ्नै कानूनी संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । 

    gokul_bhandari.jpg


    त्यसैगरी, ग्यासमा दिइँदै आएको अनुदानको विषयमा पनि पुनरावलोकनको आवश्यकता देखिएको पनि प्रवन्ध सञ्चालक भण्डारीको भनाइ छ । हाल प्रतिसिलिण्डर ग्यासमा राज्यलाई करिव ९ सय रुपैयाँ घाटा भइरहेको स्थितिमा कुन वर्गलाई सहुलियत दिने भन्नेबारे स्पष्ट वर्गीकरण हुन सकेको छैन । नेपाल उद्योग परिसंघका उपाध्यक्ष समेत रहेका भण्डारीले हाल व्यावसायिक र घरायसी दुवै प्रयोजनका लागि समान मूल्य तोकिएको बताए ।

    व्यावसायिक क्षेत्रले मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता पाउने भएकाले सर्वसाधारण उपभोक्ताको तुलनामा उद्योग तथा होटलहरूलाई ग्यास सस्तो पर्न गएको र त्यसका कारण लक्षित वर्गले वास्तविक सहुलियत पाउन नसकेको उनले गुनासो गरे ।  


    उनले भने, ‘दीर्घकालीन रूपमा हेर्दा नेपालमा एलपी ग्यास उद्योगलाई नियमन गर्ने स्पष्ट कानूनी र नीतिगत संरचना अझै कमजोर छ । नेपालमा न एक्सप्लोसिभ एक्ट छ, न पेट्रोलियम एक्ट; अहिले सञ्चालनमा रहेका उद्योगहरू समेत भारतीय मापदण्ड र सम्बन्धित एजेन्सीबाट प्रमाणित भएर सञ्चालन भइरहेका छन् । त्यसैले उद्योगको सुरक्षा, अनुगमन र नियमनका लागि आफ्नै स्पष्ट कानून र राज्यको प्रभावकारी संयन्त्र आवश्यक छ । त्यसैगरी, ग्यासको वितरण प्रणालीलाई आधुनिक प्रविधिमार्फत अझ व्यवस्थित बनाउनुपर्छ । राज्यले कसलाई कति र कस्तो अनुदान दिने भन्ने पनि स्पष्ट हुनुपर्छ । अहिले एक सिलिण्डरमा राज्यले करिव ९ सय रुपैयाँ घाटा व्यहोर्दै आएको अवस्थामा सबैलाई समान रूपमा दिइने अनुदानभन्दा लक्षित वर्गलाई मात्र अनुदान दिने नीति आवश्यक देखिन्छ । हाल कमर्सियल क्षेत्रले समेत तुलनात्मक रूपमा सस्तो ग्यास पाउने र भ्याट रिफन्डको सुविधा लिने अवस्था भएकाले अनुदान वास्तविक लक्षित उपभोक्तासम्म पुग्ने गरी प्रणाली सुधार गर्नुपर्छ । ग्यास सहज भएका बेला बजारमा रहेका सिलिन्डरहरू भरिएर राख्नसके त्यसले राष्ट्रिय रणनीतिक स्टकको रूपमा काम गर्न सक्छ । दीर्घकालीन समाधानका लागि भण्डारण पूर्वाधार, वितरण प्रणालीको सुधार र पाइपलाइन निर्माणमा राज्य तथा निजी क्षेत्रले सहकार्य गर्न आवश्यक छ । नेपाल आयल निगमले समेत भारतीय आयल कर्पोरेसनसँग पाइपलाइन विस्तारबारे छलफल अघि बढाइरहेको अवस्थामा यस्ता पूर्वाधार विकास भए एलपी ग्यास आपूर्ति र वितरणसँग सम्बन्धित दीर्घकालीन समस्या धेरै हदसम्म समाधान गर्न सकिन्छ ।’


    नेपाल एलपी ग्यास उद्योगसंघका पूर्वअध्यक्ष समेत रहेका भण्डारीले यस क्षेत्रलाई थप व्यवस्थित बनाउन वितरण प्रणालीमा आधुनिक प्रविधिको प्रयोग र पाइपलाइन विस्तारमा जोड दिनुपर्ने बताए । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसन (आइओसी) सँग पाइपलाइन निर्माणका विषयमा छलफल अगाडि बढाएको र यो प्रक्रिया पूर्ण भएमा आपूर्तिको समस्या दीर्घकालीन रूपमा समाधान हुने अपेक्षा गरिएको छ । साथै, आपूर्ति सहज भएको समयमा पर्याप्त मौज्दात (नेशनल स्टक) राख्न सकेमा भविष्यमा आइपर्ने अभावलाई टार्न सकिने विश्वास लिइएको छ । –न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार