काठमाडौं, असोज ९ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालमा हालै आएको विपद्लाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन् ।
महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, ‘म हिमालयमा अवस्थित नेपालजस्तो टाढाको देशबाट तपाईंहरूसामु एउटा गम्भीर चेतावनी बोकेर आएको छु– यो चेतावनी सम्पूर्ण मानवताका लागि हो ।’
आफूले विकास, लोकतन्त्र, शान्ति र युवा राष्ट्रका आशाबारे मात्रै कुरा गर्न चाहेको भए पनि नेपालमा भएको ठूलो विपद्का कारण मृत्यु र विनाशबारे बोल्नुपरेको पनि बताए ।
‘म परिवारका सदस्य गुमाएका र आफ्ना प्रियजन कहिल्यै घर नफर्किने प्रतीक्षामा रहेका परिवारबारे बोल्नुपरेको छ । म हिलो, चट्टान र पानीमा आफ्ना आफन्त खोजिरहेका समुदायबारे बोल्नुपरेको छ । कतिपय मानिसका शवसमेत कहिल्यै फेला नपर्न सक्छन्,’ उनले भने ।
दिगो विकास लक्ष्य हासिल गर्दै निरन्तर प्रगतितर्फ अघि बढिरहेको नेपाललाई केही साताअघि आएको विपद्ले गम्भीर रूपमा प्रभावित बनाएको उनको भनाइ थियो ।
उनले नेपालका हिमाली समुदायलाई तहसनहस बनाएको विनाशकारी बाढीका दृश्यले विश्वलाई झस्काएको बताए । उनले भने, ‘भोटेकोसी–त्रिशूली विपद् केवल स्थानीय त्रासदी थिएन, यो विश्वका लागि एउटा चेतावनी थियो ।’ उनले यो चेतावनीबारे विश्व समूदायलाई प्रश्न पनि गरे ।
प्रधानमन्त्री शाहले सोधे, ‘आज म तपाईंहरूलाई सोध्न चाहन्छु– के तपाईंहरूले त्यो चेतावनी वास्तवमै सुन्नुभएको छ ?’
उनले करिब तीन वर्षअघि सगरमाथाको छायाँमा उभिएर संयुक्त राष्ट्रसंघका महासचिवले मानवतामाथि आइरहेको जलवायु संकट र त्यसको सम्भावित विनाशबारे चेतावनी दिएको पनि सबैलाई स्मरण गराए ।
‘विश्वकै छानोबाट आएको त्यो पुकार पर्याप्त ठूलो स्वरमा सुनिएन । नेपालले त्यो आवाज सुन्यो, हाम्रा समुदायले सुने, विश्वभरका वैज्ञानिकले सुने । उनीहरूले प्रमाणसहित त्यस चेतावनीलाई दोहोर्याए,’ शाहले भने ।
तर राजनीतिक नेतृत्वले ती चेतावनीलाई जोखिममा रहेका मानिसहरूले आवश्यक ठानेको गति र स्तरमा ठोस कार्यमा रूपान्तरण गर्न नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
‘गत महिना हामीले त्यस चेतावनीको दुःखद परिणाम देख्यौँ,’ उनले भने, ‘जलवायु परिवर्तनले संवेदनशील हिमालयको पारिस्थितिक प्रणालीलाई अस्थिर बनाइरहेको छ । पग्लिँदो स्थायी तुषारो (पर्माफ्रस्ट)ले हिमाली भिरालो भूभागमा चिरा पारिरहेको छ, हिमनदीमुनिका संरचनालाई कमजोर बनाइरहेको छ र बरफ तथा चट्टानका पहिरोको जोखिम बढाइरहेको छ ।’
प्रधानमन्त्री शाहले हिमालयमा देखिइरहेका यी परिवर्तनलाई नेपाल मात्रै नभई विश्वकै साझा चुनौतीका रूपमा लिनुपर्नेमा पनि जोड दिए ।



