काठमाडौं, असोज २६ । प्रधानमन्त्री वालेन्द्र शाह पहिलो पटक प्रहरीको कार्यक्रममा सहभागी भएका छन् । उनी प्रहरी निरीक्षक आधारभूत तालिम (१८४ औं समूह) पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका अधिकृतहरुका दीक्षान्त समारोहमा सहभागी भएका हुन् ।
सोमवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नवप्रवेशी अधिकृतहरूलाई कुनैपनि प्रकारको राजनीतिक दबाब वा व्यक्तिगत स्वार्थबाट टाढा रही कानूनको शासन कायम गर्न निर्देशन दिए ।
प्रधानमन्त्रीले नेपाल प्रहरीको छवि उच्च राख्न इमान्दारी र अनुशासन नै मुख्य आधार भएको बताए । । करिव १६ महिना लामो कठोर तालिम पूरा गरेका नयाँ प्रहरी अधिकृतहरूलाई बधाई दिँदै प्रधानमन्त्री शाहले पेशागत मर्यादा र नैतिकतामा जोड दिए । प्रधानमन्त्रीले बदलिँदो अपराधको प्रकृतिलाई मध्यनजर गर्दै सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए । प्रहरी सङ्गठनलाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको पनि उनले स्पष्ट पारे । प्रधानमन्त्री शाहले प्रहरी अधिकारीहरूलाई सङ्गठनको प्रोटोकल विपरितका व्यक्तिगत स्वार्थ र अनुचित प्रभावमा नपरी निर्भीकताका साथ कर्तव्य निर्वाह गर्न सचेत गराए । नागरिकको जिउधनको रक्षा र देशमा शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरीको प्रमुख जिम्मेवारीमा कुनैपनि प्रकारको सम्झौता नगर्न उनको आग्रह छ ।
प्रधानमन्त्री शाहले भने, ‘यस तालिमबाट प्रहरी निरीक्षकको जिम्मेवारी निर्वाह गर्न आवश्यक ज्ञान, सीप र क्षमता हासिल गर्नुभएको छ भन्ने विश्वास लिएको छु । अब प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै नैतिकता, निष्ठा, इमान्दारी, अनुशासन र जवाफदेहितालाई आफ्नो कार्यसम्पादनको आधार बनाउनुहुनेछ भन्ने अपेक्षा गर्दछु । संविधान, प्रचलित कानून र नियमको पालना गर्दै कुनैपनि अनुचित दबाब वा प्रभावमा नपरी निष्पक्ष रूपमा कर्तव्य निर्वाह गर्न आग्रह गर्दछु । शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा संकटका बेला नागरिकको जिउधनको रक्षा गर्ने महत्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको हो । बदलिँदो अपराधको स्वरूपलाई ध्यानमा राख्दै अनुसन्धानलाई निष्पक्ष, वैज्ञानिक र प्रमाणमुखी बनाउन सूचना प्रविधिको उचित प्रयोग गर्नु आवश्यक छ । यसका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिवद्ध छ ।’
कार्यक्रममा प्रशिक्षार्थीहरूका अभिभावक र प्रहरी नेतृत्वको उपस्थिति रहेको थियो । तालिम पूरा गरेका अधिकृतहरूले अब देशका विभिन्न भागमा खटिएर प्रहरी सेवामा योगदान पुर्याउनेछन् । –न्युज एजेन्सी नेपाल



