२०८३, कात्तिक २० गते

बिहीबार , कात्तिक २० गते २०८३

बिहीबार , कात्तिक २० गते २०८३

नेपालमा क्रिकेटको प्रतिभा देखेर प्रभावित छु, आगामी वर्ष पनि एनपीएल खेल्न आउँछुः आन्द्रे रसेल

नेपालमा क्रिकेटको प्रतिभा देखेर प्रभावित छु, आगामी वर्ष पनि एनपीएल खेल्न आउँछुः आन्द्रे रसेल

साझा पोष्ट
मंगलबार, कात्तिक १८ २०८३
  • images
    नेपालमा क्रिकेटको प्रतिभा देखेर प्रभावित छु, आगामी वर्ष पनि एनपीएल खेल्न आउँछुः आन्द्रे रसेल
    images

    काठमाडौं, कात्तिक १७ । विराटनगर किंग्सका अलराउण्डर आन्द्रे रसेलले नेपालमा क्रिकेटको प्रतिभा र खेलाडीहरूको क्षमताबाट आफू प्रभावित भएको बताएका छन् । उनले नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटको प्रतिभा विकासमा महत्वपूर्ण भुमिका खेलिरहेको उल्लेख गर्दै आगामी वर्ष पनि प्रतियोगितामा सहभागी हुन आउने बताएका छन् । मंगलवार जनकपुर बोल्ट्ससँगको खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै रसेलले नेपालमा १५ देखि २० जनासम्म राष्ट्रिय टोलीमा स्थान बनाउन सक्ने सम्भावना भएका खेलाडी देखेको बताए । राष्ट्रिय टोलीमा नरहेका खेलाडीसमेत अवसरको खोजीमा रहेको उल्लेख गर्दै उनले नेपाली क्रिकेटमा प्रतिभाको कमी नरहेको धारणा राखे । नेपालले वेस्ट इण्डिजजस्ता ठूला टोलीलाई हराउन सक्नुको कारण पनि आफूले एनपीएलमा देखेको प्रतिभाबाट बुझ्न सकेको रसेलको भनाइ छ । उनले खेलाडीलाई सही प्रशिक्षण र मार्गदर्शनसँगै मेहनती तथा विनम्र रहन सुझाव दिए । 
    रसेलले नेपाली पिच र खेल परिस्थितिलाई चुनौतीपूर्ण भएपनि आफूलाई नयाँ नभएको बताए । दुई दशकभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय तथा विभिन्न फ्रेन्चाइज प्रतियोगिता खेल्दै आएको अनुभवले फरक पिच र परिस्थितिमा आफूलाई अभ्यस्त बनाएको उनको भनाइ थियो । क्यारेबियन क्षेत्रका पिचसँग पनि नेपाली पिचको केही समानता रहेको उनले बताए ।
    अन्तिम ओभरमा १३ रन बचाउने जिम्मेवारी पाउँदा आफूले आफ्नो बलिङ क्षमतामा विश्वास गरेको उनले बताए । अन्तिम ओभरमा दुई सेट ब्याटर क्रिजमा रहेकाले दबाब भए पनि १० रन बचाउन सके पर्याप्त हुने विश्वास लिएको उनले सुनाए । अन्तिम बलमा ब्याटरले अपेक्षा नगर्ने किसिमको सर्ट बल प्रयोग गर्ने निर्णय सफल भएको उनको भनाइ थियो ।
    ब्याटिङ र बलिङ दुवैमा अनुभव भएकाले ब्याटरले अन्तिम ओभरमा के अपेक्षा गर्छन् भन्ने बुझ्न आफूलाई सहज हुने रसेलले बताए । ब्याटिङ गर्दा बलरले अपनाउन सक्ने रणनीति र परिवर्तनबारे सोच्ने गरेको उल्लेख गर्दै उनले सोही अनुभवले बलिङमा पनि सहयोग पुगेको बताए । 
    नेपाली खेलाडीहरूसँगको सम्बन्धबारे रसेलले एनपीएलमा आफूले निकै आत्मीय वातावरण पाएको बताए । नेपाली खेलाडीहरू रमाइलो स्वभावका र मिलनसार रहेको उल्लेख गर्दै उनले विराटनगरको ड्रेसिङ रुम आफूले अनुभव गरेका सबैभन्दा खुसीमध्ये एक भएको बताए । उनले नेपाली खेलाडी लोकशसँग पनि नजिकको सम्बन्ध बनेको र ब्याटिङमा सुरुआत कसरी गर्ने तथा क्रिजमा सेट भएपछि विकेट जोगाएर खेल्ने विषयमा सुझाव दिने गरेको बताए । यसैबीच, टी–२० क्रिकेटमा १० हजार रन पूरा गर्ने लक्ष्य पाँच वर्षअघि नै निर्धारण गरेको रसेलले खुलासा गरे । 
    आफू १० हजार रन पूरा गर्ने पहिलो तिब्र गतिका बलिङ अलराउन्डर बन्न चाहेको बताउँदै उनले ५०० भन्दा बढी टी–२० विकेट र १० हजार रनको लक्ष्य हासिल गर्न चोट, शल्यक्रिया र पुनरागमनका कठिनाइ पार गरेको उल्लेख गरे । 
    १० हजार रनको उपलब्धिपछि अब १२ हजार रनको लक्ष्य राख्ने सोच बनाएको उनको भनाइ थियो । आफूले राखेको लक्ष्यले भविष्यका तिब्र गतिका अलराउन्डरलाई अझ ठूलो उपलब्धि हासिल गर्न प्रेरित गर्ने अपेक्षा पनि उनले व्यक्त गरे । प्रतिद्वन्द्वी टोली जनकपुर बोल्ट्सका ब्याटर सैफ हसनको प्रदर्शनको प्रशंसा गर्दै रसेलले अन्तिम ओभरमा उनले आफूलाई दबाबमा राखेको बताए । नजिक पुगेर पनि जित हासिल गर्न नसक्दाको पीडा आफूले धेरैपटक अनुभव गरेकाले सैफको प्रदर्शनको सम्मान गर्ने उनले बताए । 
    नेपालको सबैभन्दा मन परेको पक्षबारे सोधिएको प्रश्नमा रसेलले यहाँको प्राकृतिक सौन्दर्य, हिमाल र नेपालीहरूको आतिथ्यको प्रशंसा गरे । आफूले बाल्यकालदेखि सुन्दै आएको सगरमाथा देख्न पाउनु विशेष अनुभव भएको उनले बताए । नेपालमा अझै एक खेल बाँकी रहेकाले आफू तत्काल स्वदेश नफर्किने पनि उनले स्पष्ट पारे ।


    images

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार