काठमाडौं, मंसिर ८ । नेपाल एसिया कप राइजिङ स्टार्स प्रतियाेगताकाे समूह चरणबाटै बाहिरिएकाे छ । आज भएकाे समूह चरणकाे अन्तिम खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ९६ रनले पराजितपछि बाहिरिएकाे हाे ।
नेपालले प्रतियोगितामा युएईलाई मात्रै पराजित गर्न सक्यो । यस समूहबाट भारत ए र पाकिस्तान ए सेमिफाइनलमा प्रवेश गरेका छन् ।
१६८ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै अलआउट भयो । नेपालका लागि मयन यादवले सर्वाधिक ४१ र बसिर अहमदले ११ रन जोडे ।
अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका ६ ब्याट्सम्यान शून्यमै आउट भए ।
पाकिस्तानका बलर मोहम्मद हसनैन र सुफ्यान मोकिमले समान तीन विकेट लिए । त्यस्तै, मोहम्मद इमरानले दुई तथा माज सदाकतले एक विकेट झारे ।
त्यसअघि कतारस्थित दोहाको साइन्स एन्ड टेक्नोलोजी विश्वविद्यालयको मैदानमा टस जितेर ब्याटिङ गरेकाे पाकिस्तान ४२ ओभरमा १६८ रनमा अलआउट भयो ।
रोहेल नजिरले सर्वाधिक ६४ रनको योगदान दिए । यस्तै, हसन नवाजले २८, अहमद दनियालले १६, हैदर अलीले १५, माज सदाकतले १३ रन जोडे ।
बलिङतर्फ नेपालका राशिद खान एक्लैले ५ विकेट लिए । यस्तै, अभिशेष गौतमले दुई तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए ।



