२०८३, मंसिर १० गते

बुधबार, मंसिर १० गते २०८३

बुधबार, मंसिर १० गते २०८३

‘समाजमा विद्यमान कुप्रथा, अन्धविश्वास र रूढीवादी परम्परालाई प्रश्रय दिनेगरी चलचित्र निर्माण गर्न दिनु हुँदैन’

‘समाजमा विद्यमान कुप्रथा, अन्धविश्वास र रूढीवादी परम्परालाई प्रश्रय दिनेगरी चलचित्र निर्माण गर्न दिनु हुँदैन’

साझा पोष्ट
मंगलबार, मंसिर ९ २०८३
  • images
    ‘समाजमा विद्यमान कुप्रथा, अन्धविश्वास र रूढीवादी परम्परालाई प्रश्रय दिनेगरी चलचित्र निर्माण गर्न दिनु हुँदैन’
    images

    काठमाडौं, मंसिर ८ ।  प्रतिनिधि सभाका सांसदहरूले संस्कृति संरक्षणका नाममा समाजमा विद्यमान रहेका कुप्रथा, अन्धविश्वास र रूढीवादी परम्परालाई प्रश्रय दिनेगरी चलचित्र निर्माण नदिने गरी कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा चलचित्र विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् ।


    images

    चलचित्र जाँच समितिको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने र अन्तरिम आदेश ल्याउन प्रवृत्ति रोक्न सञ्चार मन्त्रालयलाई क्षेत्राधिकार तोक्न समेत उनीहरुको माग छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले संस्कृतिको संरक्षणका नाममा समाजमा विद्यमान कुरीति र जातीय विभेदका कथालाई समेटेर चलचित्र निर्माण गर्ने परम्पराले समाजलाई न्याय गर्न नसकेको बताएकी छन् ।

    उनले संविधानले स्वतन्त्रताको हक सुनिश्चित गर्नुका साथै भाषा, संस्कृति र समुदायको हकहित संरक्षणको व्यवस्था गरेको उल्लेख गर्दै स्वतन्त्रताका नाममा चलचित्रमार्फत जातीय विभेदलाई प्रोत्साहन गर्ने छुट दिन नहुने तर्क गरिन् । जातीय विभेदलाई प्रश्रय दिने गरी चलचित्र निर्माण भए समाजमा न्याय, स्वतन्त्रता र आत्मसम्मानसहित बाँच्न पाउने अधिकारको प्रत्याभूति हुन नसक्ने भन्दै उनले यस्ता विषयलाई कानुनमै समेटेर समाधान गर्नुपर्नेमा जोड दिएकी छन् ।

    उनले भनिन्, ‘संविधानले एकतातिर स्वतन्त्रताको हकको सुनिश्चितता गरेको छ भने अर्कोतिर संस्कृति, भाषा र कुनैपनि समुदायको हकहितको रक्षाको कुरा पनि गरेको छ । संस्कृतिको संरक्षण गर्ने बाहानामा चलचित्रले समाजमा चलिआएको कूपर्थाको संरक्षण गर्ने भन्ने त हाम्रो ध्येय होइन होला । यदि समाजमा रहेको जातीय विभेदलाई प्रश्रय दिनेगरी हामीले चलचित्र बनाउने हो भने हाम्रो समाज कहिले पनि न्यायको महसुस गर्दैन । स्वतन्त्रको महसुस गर्दैन र आत्मसम्मानसहित बाँच्न पाउने कुराको समेत महसुस गर्दैन । त्यो सो हो भने हामीले यो कुरालाई किन प्रोत्साहन दिइराखेका छौँ । त्यसकारण यो कुराहरु कानूनमै राखेर समाधानको बाटोमा लैजानुपर्छ ।’

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुलभ खरेलले चलचित्र जाँच समितिको निर्णयविरुद्ध उजुरी तथा पुनरावेदनको प्रक्रिया व्यवस्थित बनाउनुपर्ने बताए । उनले चलचित्र जाँच समितिको निर्णयप्रति असन्तुष्ट व्यक्तिले सिधै सर्वोच्च अदालतमा जानुभन्दा पहिले सम्बन्धित मन्त्रालयमा उजुरी दिन पाउने व्यवस्था गर्नुपर्ने प्रश्ताव गरे । मन्त्रालयको निर्णयप्रति पनि असन्तुष्टि भए सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था गरे चलचित्रसम्बन्धी विवाद र अन्तरिम आदेशको प्रक्रियालाई व्यवस्थित गर्न सकिने उनको भनाइ छ ।

    उनले भने, ‘यो सर्वोच्च अदालतबाट अन्तरिम आदेश ल्याउने कुराको अब अन्त्य गर्नुपर्छ । चलचत्रि जाँच समितिले चलचित्रको सबै कुरा हेर्ने प्रश्तावित विधेयकमा व्यवस्था गरेको छ । यो जाँच समितिले गरेको निर्णयपछि पनि चलचित्रमा कुनै व्यक्तिलाई चित्त बुझेन भने सिधै अदालतमा जानेभन्दा मन्त्रालयमा गएर उजुरी दिने व्यवस्था गरिनुपर्छ । यदि त्यसमा पनि उसको चित्त बुझेन भने सर्वोच्च अदालतमा गएर पुनरावेदन दिने व्यवस्था गर्यौँ भने यो समस्या हल हुनसक्छ । त्यसकारण यो सम्बन्धमा मैले संशोधन प्रश्ताव पनि राखेको छु ।’

    रास्वपाकी सांसद भुमिका श्रेष्ठले चलचित्र विधेयकमा भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण र सीमान्तकृत समुदायको सहभागिता सुनिश्चित गर्नेगरी ऐन निर्माण गर्नुपर्ने बताइन् । उनले नेपाल चार जात छत्तीस वर्णको मुलुक भएको उल्लेख गर्दै चलचित्र निर्माण गर्दा सबै समुदायको भाषा, संस्कृति र पहिचानलाई समेट्नुपर्नेमा जोड दिइन् ।

    उनले भनिन्, ‘हाम्रो मुलुक त चार जात छत्तिस वर्णको मुलुक हो नि त । त्यसकारण चलचित्र निर्माण गर्दाखेरी चाँही भाषिक तथा सांस्कृतिक संरक्षण, मातृ भाषा तथा रैथाने भाषाको प्रवद्र्धन तथा आदिबासी, जनजाति, मधेसी, सिमान्तकृत तथा लोपउन्मुख समूदायको समेत चलचित्र क्षेत्रमा पहुँच र सहभागिताको सुनिश्चित गर्नेगरी विधेयकलाई अगाडि बढाउनुपर्छ ।’

    सांसद श्रेष्ठले मातृभाषा तथा रैथाने भाषाको प्रवद्र्धनका साथै आदिवासी, जनजाति, मधेसी, सीमान्तकृत तथा लोपोन्मुख समुदायको चलचित्र क्षेत्रमा पहुँच र सहभागिता सुनिश्चित हुने गरी विधेयक अघि बढाउनुपर्नेमा समेत जोड दिएकी छन् ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार