काठमाडौं, मंसिर ८ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग क्रिकेट रङ्गशाला निर्माण र ‘होम एन्ड अवे’ ढाँचामा प्रतियोगिता सञ्चालन गर्ने विषयमा छलफल गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले एनपीएलको छैटौँ संस्करणदेखि आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका घरेलु रङ्गशाला निर्माण गरी ‘होम एन्ड अवे’ प्रणालीमा लिग सञ्चालन गर्ने घोषणा गरेपछि त्यसको कार्यान्वयन मोडालिटीबारे मन्त्रालयले सरोकारवालासँग परामर्श थालेको हो ।
छलफलमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कासहित आठवटै फ्रेन्चाइज टोलीका प्रतिनिधि सहभागी थिए ।
छलफलमा मन्त्री पोखरेलले एकैपटक आठवटै रङ्गशाला निर्माण गर्नुभन्दा यथार्थपरक योजना बनाएर चरणबद्ध रूपमा अगाडि बढ्ने विषय राखे । आगामी चौथो संस्करणदेखि नै दुईदेखि तीनवटा भेन्युबाट ‘होम एन्ड अवे’ को अभ्यास सुरु गर्ने र पाँचौँ तथा छैटौँ सिजनसम्म पुग्दा आठवटै घरेलु मैदानमा खेल सञ्चालन गर्न सकिने विषयमा छलफल गर्न खोजिएको बताए ।
‘पहिलो चरणमा कुन मोडालिटी र समयसीमाभित्र रङ्गशाला निर्माण गर्ने भन्ने विषयमा स्पष्ट हुन जरुरी छ’, छलफलमा मन्त्री पोखरेलले भने,’सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा जाने कि क्लबहरूलाई दीर्घकालीन लिजमा दिएर निर्माणको जिम्मा दिने भन्ने विकल्पमा सरकार खुला छ।’
यसबाट क्लबहरूको स्वामित्व र अपनत्व हुँदा निर्माण छिटो हुने र समर्थकमाझ पनि सकारात्मक सन्देश जाने उनको भनाइ थियो ।
छलफलमा अन्तर्राष्ट्रिय स्तरको प्रसारण, प्रोडक्सन र रिभ्यु सिस्टम (डीआरएस) का कारण एउटै मैदानमा लिग गर्दा पनि लागत उच्च रहेको विषय उठेको थियो । सोही सन्दर्भमा ‘होम एन्ड अवे’ प्रणालीमा जाँदा लागत साझेदारी (कस्ट सेयरिङ) र रेभिन्यु सेयरिङको स्पष्ट खाका बनाएर अगाडि बढ्ने समझदारी बनेको छ।
बैठकमा क्यान सचिव पारस खड्काले कीर्तिपुरस्थित टियु मैदान र मूलपानीको विद्यमान महङ्गो डीपीआरलाई परिमार्जन गरी सहुलियत बजेटमा टियु, मूलपानी र चितवनको गौतमबुद्ध क्रिकेट रङ्गशाला १० महिनाभित्रै तयार पार्न सकिने प्रस्ताव प्रस्तुत गरे ।
‘एनपीएल सकिएसँगै प्रधानमन्त्रीबाट जे कुरा आयो, एकदमै खुसी छौँ । हाम्रो क्लबको युनिटी पनि एकदमै राम्रो छ। राम्रो काम गर्ने इगोमात्र उहाँहरुमा छ। त्यसैले सहकार्यमा काम गर्न असहज छैन’, खड्काले थपे ।

फ्रेन्चाइज क्लबका प्रतिनिधिहरूले पनि आगामी सिजनका लागि तत्काल टियु मैदानको दर्शक क्षमता बढाउनुपर्नेमा जोड दिएका थिए । अन्य मैदानको हकमा अपसी सहकार्य गरेर रङ्गशाला निर्माणमा पनि लाग्नसक्ने विषय उनीहरुको थियो ।
सरकारले दीर्घकालीन स्पष्ट नीतिगत व्यवस्था गरिदिए रङ्गशाला निर्माण तथा सञ्चालनमा निजी क्षेत्रबाट लगानी भित्र्याउन पनि आफूहरू तयार रहेको उनीहरुले बताएका थिए । यस्तै, क्लबका प्रतिनिधिहरुले खेलकुद पूर्वाधारमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउन र प्रायोजनसम्बन्धी नीतिगत जटिलता फुकाउन सरकारसँग आग्रह गरेका थिए ।
त्यस्तै, तत्काल टियुलाई व्यवस्थित गर्दै मूलपानी र चितवन रङ्गशालाको काम छिटो सकेर आगामी सिजनमा बिहानको खेल मूलपानी र बेलुकाको फ्लडलाइट खेल टियुमा खेलाउन सकिने व्यावहारिक उपायसमेत क्लबका प्रतिनिधिहरूले सुझाएका थिए ।
छलफलमा सरोकारवालाहरूको सुझाव समेट्दै मन्त्री पोखरेलले आफूहरुले पीपीपी मोडलमै काम गर्न चाहेको र त्यसका लागि क्लबहरुसँगै सहकार्य गर्ने कुरालाई सरकारले प्राथमिकतासाथ हेरेको बताए ।
"अब यसलाई कमर्सियल एंगलले पनि सोच्नुपर्छ। पीपीपी मोडलमै हामी जाने हो। अरु निजी क्षेत्रसँग जानुभन्दा पनि एनपीएलका क्लबसँगै जानुपर्छ भनेर तपाईंहरुसँग छलफल गरेका हौँ," मन्त्री पोखरेलले भने, "यसमा तपाईंहरुको सकारात्मक प्रतिक्रियाले थप उत्साह थपेको छ। घोषणा गरेअनुरुप एउटा मोडालिटी बनाएर छिटै काम सुरु हुन्छ।"



