शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

काठमाडौंमा बालेन शाहले कति मत पाउलान ? के उनले चुनाव जित्ने संभावना छ ?  हेरौं सम्पूर्ण अंकगणित  

काठमाडौंमा बालेन शाहले कति मत पाउलान ? के उनले चुनाव जित्ने संभावना छ ?  हेरौं सम्पूर्ण अंकगणित  

साझा पोष्ट
आइतबार, वैशाख २५ २०७९
  • images
    काठमाडौंमा बालेन शाहले कति मत पाउलान ? के उनले चुनाव जित्ने संभावना छ ?  हेरौं सम्पूर्ण अंकगणित  
    images
    २५ बैशाख, काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका बालेन्द्र शाह उर्फ बालेन  अहिले सामाजिक संजालमा निकै चर्चित छन् । घरदैलो अभियानमा पनि उनको पछि ठुलै भीड देखिन्छ । बालेनको चर्चा बढेसँगै ठुला दलका उम्मेद्वारलाई टाउको दुख्न थालेको छ । नेकपा एमालेका उम्मेद्वार केशव स्थापितले त निरन्तर बालेनमाथि हमला गरिरहेका छन् । यसले पनि स्थापित आत्तिएका हुन् कि भन्ने देखिन्छ । सँगसँगै बालेनले कति मत ल्याउलान भन्ने चर्चा पनि अहिले सबैतिर देखिन्छ । कतिपयले उनले जित्ने दाबी गरिरहेका छन् भने कतिपयले नजिते पनि सम्मानजनक मत ल्याउने बताइरहेका छन् । एमाले र कांग्रेसका नेता कार्यकर्ताले भने उनलाई अन्डरस्टिमेट गरेका छन् । उनीहरु बालेनले पाँच हजार मत पनि नल्याउने बताईरहेका छन् । खासमा बालेनले कति मत ल्याउलान त  ? के उनी चुनाव नै जित्ने अवस्थामा छन् ? उनले कति मत ल्याउँदा कुन उम्मेद्वारलाई बढि असर पर्छ ? यसबारे हामी पनि चर्चा गरौं । तर त्यो भन्दा पहिले काठमाडौंमा गत चुनावको परिणाम कस्तो थियो त्यो हेरौं । २०७४ सालको चुनावमा काठमाडौं महानगरमा राप्रपासँग तालमेल गरेको नेकपा एमालेले मेयर र एक्लै लडेको कांग्रेसले उपमेयर जितेको थियो । मेयरमा जितेका विद्या सुन्दर शाक्यले ६४ हजार ९१३ मत ल्याएका थिए । उनका निकट्तम प्रतिद्धन्दी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत ल्याए । तेस्रो स्थानमा रहेकी विवेकशिल नेपाली दलकी रन्जु न्यौपानेले २३ हजार ४३९ र चौथो बनेका साझा पार्टीका किशोर थापाले १८ हजार ४९६ मत ल्याए । त्यसपछि  माओवादी केन्द्रका सर्वोत्तम दास डंगोलले ७ हजार ९०६, तत्कालिन नयाँ शक्तिका  पवित्र बज्राचार्यले ६ हजारभन्दा बढी मत ल्याए । उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी ५८ हजार ९५२ मत ल्याएर विजयी भईन । राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत मात्रै ल्याए । साझा पार्टीका निरुपमा यादवले ११ हजार ५३३ र माओवादीका शुसिला कुमारी पौडेलले १० हजार ४४८ मत ल्याइन ।  बालेनका कारण कसलाई बढी घाटा  ? गत चुनावमा अहिले बालेनको जस्तै रञ्जुको चर्चा थियो । सामाजिक संजालमा त उनले चुनाव जित्ने तहकै हल्लाखल्ला देखिन्थ्यो । रञ्जुको दलको सांगठनिक आधार कमजोर थियो । त्यसैले उनले ल्याएको धेरै मत व्यक्तिगत नै थियो । किशोर थापाले पनि सम्मानजनक मत ल्याएका थिए । विवेकशिल र सझा पार्टी पछि एकीकृत भए । यस आधारमा यी दुईको मत जोड्दा झण्डै ४२ हजार हुन्छ । बालेन शाह गायककार र कलाकार पनि हुन् । स्वभाविक रुपमा युवा समूह अहिले उनीप्रति आकर्षित देखिन्छ । विगतमा धेरै मत ल्याएको साझा पार्टी अहिले चर्चामा छैन । आन्तरिक विवादका कारण सुस्ताएको छ । पहिलेजस्तो आकर्षण पनि देखिदैन । यसरी हेर्द विगतमा रञ्जु र किशोर थापाको पक्षमा लागेका अधिकांश युवा मतदाता यसपटक बालेनको पक्षमा लागेका छन् । त्यसैले बालेनका कारण सबैभन्दा ठुलो नोक्सानी पनि साझा पार्टीलाई नै हुने देखिन्छ । त्यसवाहेक गठबन्धनसँग असन्तुष्ट बनेका कांग्रेसका केही नेता कार्यकर्ता पनि बालेको पक्षमा देखिएका छन् । अर्कातिर केशव स्थापित जुझारु देखिन्छन् । त्यसैले धेरै युवाको भोट उनलाई जाने संभावना थियो । बालेनका कारण अब त्यो रोकिएको छ । त्यसैले कांग्रेस र एमाले दुबै दलका युवा मतदाताको एउटा हिस्सा पनि बालेनतिर गएको छ । एमालेले नयाँ थपिएका मतदाताको आफ्नो दलप्रति आकर्षण रहेको बताउने गरेको छ । तर काठमाडौंमा नयाँ मतदाता धेरै बालेनको पक्षमा देखिन्छन् । यसरी हेर्दा साझा पार्टीपछि बालेनका कारण एमालेलाई बढी घाटा हुन सक्छ । स्थापितको छुच्चो बोलीका कारण बिच्किएका केही मतदाता पनि बालेनको पक्षमा लाग्न सक्छन् ।   बालेनलाई जित्न कति सहज ? यो प्रश्नको उत्तर अघि सबैभन्दा पहिले काठमाडौंका मतदाताको अवस्था जान्नु आवस्यक छ । महानगरमा अहिले ३ लाख २४२ मतदाता छन् । यो गत चुनावको भन्दा करिब २१ हजार बढी हो । गत चुनावमा १ लाख ६७ हजार २८६ सदर मत थियो । अहिले मतदाता थपिएकाले १ लाख ८० हजारको हाराहारीमा मत खस्न सक्छ । यसरी हेर्दा दुईजनाको सिधा प्रतिस्पर्धामा जित्नका लागि ९० हजार र त्रिपक्षीय प्रतिस्पर्धामा ६५ हजार हाराहारीमा मत ल्याउनु आवस्यक देखिन्छ । बालेनले जित्ने अवस्था आउनु भनेको त्रिपक्षीय प्रतिस्पर्धा पनि स्वत हुनु हो । किनकी सांगठनिक रुपमा एमाले र गठबन्धनका उम्मेद्वार पहिल्लै प्रतिस्पर्धी छन् । अब बालेनलाई जित्न चाहिने मत ६५ हजार कसरी आउन सक्छ भन्ने नै अहिलेको प्रश्न हो । यद्यपी उनले ९० हजार भन्दा बढी मत ल्याउने दाबी गरिरहेका छन् । काठमाडौंमा यसपटक धेरै दलका उम्मेद्वार छैनन् । माओवादी,  जनता समाजवादी र नेकपा एकीकृत समाजवादीले मेयरमा कांग्रेसका उम्मेद्वारलाई समर्थन गरेका छन् । विगतकै नतिजा हेर्दा कांग्रेसले पाएको ४५ हजार मतमा यी तीन दलको १५ हजार भन्दा बढी मत थपिनसक्छ । त्यस्तो अवस्थामा कांग्रेस उम्मेद्वार सिर्जना सिंहले ६० हजार भन्दा बढी मत ल्याउन कुनै समस्या देखिदैन । अब नयाँ मतदाताबाट उनलाई कति मत जान्छ त्यो स्पष्ट छैन । त्यसवाहेक पहिले विवेकशिल साझाले ल्याएका मतबाट कांग्रेसमा केही मत जाने संभावना पनि छ । एमालेले विगतमा पाएको मतमा राप्रपा र एकीकृत समाजवादीको घट्दा ५५ हजार हाराहारी हुन्छ । त्यसमा केही नयाँ मतदाता र कोर काठमाडौंको अलि बढी मत स्थापितलाई जान सक्छ । यसरी हेर्दा उनी पनि सिंहकै हाराहारीमा पुग्छन् । अब रह्यो विवेकशिल साझा र राप्रपाको । साझाले गत चुनावमा पाएको मत यसपटक नपाउने लगभग निश्चित छ । एक त पार्टी नै आन्तरिक कलहमा फसेको छ । अर्कातिर उसले अपनाएको शैद्धान्तिक आधार राप्रपासँग उस्तै देखिन्छ । त्यसैले यसपटक साझाकी मेयरकी उम्मेदवार समिक्षा बाँस्कोटाले ५ देखि १० हजार मात्रै मत पाउन सक्छिन । राप्रपाले पनि त्यसकै हाराहारीमा मत ल्याउने अनुमान छ । अब बाँकी रहेका सबै मत ल्याउँदा बालेन बल्ल प्रतिस्पर्धामा पुग्नेछन् । जुन एकदमै सहज पनि छैन र एकदमै असहज पनि लाग्दैन । बालेनले कति मत ल्याउलान ?          सांगठनिक आधार नभएकाले बालेनले कति मत ल्याउँछन् भनेर यकिन गर्न निकै गाह्रो छ । तर काठमाडौंमा केही चुनावको नतिजा केलाउँदा यहाँ स्वीङ मतदाताको संख्या निकै बढी छ । जुन अन्यत्र देखिदैन । कहिले एमाले, कहिले माओवादी त कहिले राप्रपा नेपालसम्मले काठमाडौंमा निकै धेरै मत ल्याएका उदाहरण छन् । काठमाडौं बाहिर यस्तो हुनु निकै दुर्लभ मानिन्छ । यिनै अस्थिर र नयाँ खोज्ने मतदाताको संख्या ठुलो रहेकाले नै बालेनले अहिलेको समर्थन र चर्चा पाएका हुन् । गत चुनावलाई नै आधार मान्ने हो भने यस्तो संख्या पचास हजारको हाराहारीमा देखिन्छ । अहिले बढेर त्यो ६० हजार पुग्न सक्छ । यसबाट बालेनले उल्लेख्य मत पाउँछन् भन्नेमा शंका रहेन । अहिले उनको पक्षमा कलाकारदेखि सामाजिक अभियन्तासम्म खुलेर लागेका छन् । विदेशमा बस्ने नेपालीको एउटा समूह पनि बालेनको पक्षमा क्याम्पेन गर्न व्यस्त छ । तर ति सबै काठमाडौंका मतदाता भने होईनन् । पहिले विवेकशिल र साझाले पाएको मध्येबाट बालेनले ३० देखि ३५ हजार सम्म मत तान्न सक्छन् । त्यसवाहेक उनले नयाँ मतदाताको पनि आधा भोट ल्याउने संभावना छ । यसरी हेर्दा उनको मत ४० देखि ४५ हजारसम्म पुग्छ । अब जित्नका लागि उनलाई थप २०/२५ हजार मत चाहिन्छ । कांग्रेस, एमाले, माओवादी र राप्रपाबाट उनले त्यति मत तान्न सके चुनाव जित्नेछन् । सकेनन भने उनको मत ५० हजार भन्दा तल नै हुनेछ । त्यसैले अहिले एमाले र कांग्रेस बालेन तिर आफ्ना मतदाता आकर्षित नहुन भनेर बढी सचेत देखिन्छन् । बालेन पनि संगठित मतलाई कसरी तान्न सकिन्छ भनेर लागिरहेका छन् । आगामी पाँचदिनले नै उनको हारजित तय गर्नेछ । तर उनले जिते पनि/हारे पनि स्वतन्त्र रुपमा उठेर बालेनले पाउने मत दलहरुका लागि भने चुनौतिपुर्ण हुने स्पष्ट देखिएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार