शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

केशव स्थापितका पाँच फण्डा ! जसले उनलाई संकटमा पार्न सक्छ

केशव स्थापितका पाँच फण्डा ! जसले उनलाई संकटमा पार्न सक्छ

साझा पोष्ट
मंगलबार, वैशाख २७ २०७९
  • images
    केशव स्थापितका पाँच फण्डा ! जसले उनलाई संकटमा पार्न सक्छ
    images
    २७ बैशाख, काठमाडौं । यसअघिका काममा प्रशंसा कमाएका केशव स्थापितलाई नेकपा एमालेले संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवार बनाएको छ । सत्तारुढ दलको गठबन्धनलाई टक्कर दिन सक्ने उम्मेदवारका रुपमा एमालेले स्थापितलाई अघि सारेको हो । मतदानको मिति नजिकिंदै जाँदा स्थापितका अभिव्यक्तिले भने चर्को विवाद सृजना गरिरहेको छ । यसले उनको उचाई घटाउँदै लगेको देखिन्छ । उनले एकपछि अर्को फण्डा मच्चाइरहेका छन् जसको सामाजिक सञ्जालमा चर्को आलोचना पनि भैरहेको छ । यो बीचमा उनले मच्चाएका फण्डा हेरौं । फण्डा नम्बर १– बालेन शाहमाथि अराजनीतिक टिप्पणी केशव स्थापित र बालेन साह दुबै काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार हुन् । स्थापित राजनीतिका चतुर खेलाडी हुन् भने बालेन भर्खरै स्वतन्त्र रुपमा काठमाडौं सुधार्छु भन्दै राजनीतिमा प्रवेश गर्न खोज्दैछन् । चुनाव नजित्दासम्म दुबैको हैसियत उम्मेदवारको रुपमा समान हो । युवा जमातमा बालेनको क्रेज ह्वात्तै बढेको छ । यसले स्थापितको टाउको बढी दुखेको छ । उनका कैयौं भोट बालेनले काट्ने आँकलनका कारण यसरी आक्रामक भएको अनुमान  छ । गत आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा स्थापितले बालेनलाई 'फुच्चे' र 'अन्तर्राष्ट्रिय ठग' भने । ‘एउटा फुच्चे भन्ने बालेन साह रहेछ, ऊ त अन्तर्राष्ट्रिय ठग रहेछ’ स्थापितले भनेका छन् । उनले बालेन साहले आफ्नो जातीय पहिचान लुकाएको पनि आरोप लगाए । ‘म काठमाडौंमा जन्मेको, पहाडीया ठकुरी भन्छ क्या बालेन शाह । हिजो के कुरा खुल्यो भने ऊ त यहाँको शाह नै रहेनछ, मधेशतिरको साह रहेछ । सुरुवातमै ठग कुरा गर्ने मान्छेको हालत के हुन्छ ? सुरुवातमै ठग क्या, दर्तावाल ठग । सबै काठमाडौंबासीलाई ठग्न पाइन्छ ? म मधेशको मान्छे भनेर आँट गरेर आउनुपर्दैन ?’ स्थापितले भनेका छन् । फण्डा नम्बर २– मलाई भोट नहाल्ने मान्छे नर्क जान्छन् स्वर्ग के हो, नर्क के हो, कसैलाई थाहा छैन । त्यसमाथि स्थापित कम्युनिष्ट पार्टी नेकपा एमालेका नेता हुन् । कम्युनिष्टहरु त झन स्वर्ग, नर्क, धर्मकर्ममा विश्वास नै गर्दैनन्  । तर काठमाडौं महानगरपालिकाको एमालेका उम्मेदवार स्थापितले आफूलाई भोट नहाल्ने मान्छेहरु नर्कमा पुग्ने अभिव्यक्ति दिए । सोमबार काठमाडौंको त्रिपुरेश्वर–११ वंशीघाटमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितले यस्तो बाेले । ‘यो ठाउँको असजिलो पर्दा म अगाडि उभिएको हुँ, यहाँ मेरो अधिकार पनि लाग्छ’, स्थापितले सम्बोधन गर्दै भने, ‘यहाँका कोही दाजुभाइले मलाई भोट हालेनन् भने त्यो मान्छे नर्कमा जान्छ ।’ फण्डा नम्बर ३– मरौं मरौं लाग्ने आर्यघाट बनाउँछु चुनावको मिति नजिकिँदै जाँदा स्थापित दैनिकजसो कुनै न कुनै फण्डा गरेर चर्चामा आउने गरेका छन् । उनी चुनावी अभियानका क्रममा कतिवेला के बोल्ने भन्नेसम्म ख्याल गर्न छाडेका छन् । स्थापितले पशुपति आर्यघाट व्यवस्थित बनाउने अभिव्यक्ति भाइरल भयो । जेसुकै भए पनि मानिसलाई मर्न डर लाग्छ । तर स्थापित यसलाई बुझ्दैनन् । लाश जलाउने ठाउँको डिजाइन निकै राम्रो गरेको भन्दै उनले अगाडी बोले ‘लाश जलाउने ठाउँको डिजाइन गरेको छु । त्यो यस्तो गज्जबको हुँदोरैछ की म आफै त्यही सुतेर मरौं मरौं जस्तो हुन्छ ।’ उनले थपे, ‘आर्यघाटमा मलामी जानेलाई ऊ किन मरेको होला ? म आफै मरौं जस्तो लाग्ने ठाउँ बनाउँछु ।’ फण्डा नम्बर ४– महिलामाथि अपमान गत वैशाख १५ गते धुम्बाराहीस्थित नेश्नल कलेजमा काठमाडौं महानगरका मेयरका उम्मेदवारबीच छलफल चलिरहँदा केशव स्थापितलाई एक जना सहभागी (भावना राउत) ले उनीमाथि लाग्दै आएको ‘मिटू’को आरोपबारे प्रश्न सोधिन् । उनको प्रश्न थियो– विगतमा तपाईंलाई दुई जना महिलाले मिटुको आरोप पनि लगाएका छन् । तपाईंले भोलि मेयर जितेमा तपाईंको अफिस जानलाई म सुरक्षित हुन्छु कि हुँदिन ? अथवा तपाईंकै उपमेयर सुनिताजी सुरक्षित हुनुहुन्छ कि हुनुहुँदैन ? सुरुवातमा ‘फेस टु फेस’ सबै प्रश्नको जवाफ दिने बताएका स्थापित राउतको प्रश्नमा गैरजिम्मेवार शैलीमा प्रस्तुत मात्र भएनन्, उल्टै राउतलाई धम्की समेत दिए । उनले राउतलाई ‘यु आर नाइस लेडी बट थुतुनो ठिक भएन’ भनेर सार्वजनिक मञ्चबाट आपत्तिजनक टिप्पणी गरे । स्थापितले प्रश्नको खण्डन गर्ने क्रममा ‘म भोलि यो महिलाले वेश्यावृत्ति गर्छ भनेर छपाउँ ?’ भनेर पनि धम्की दिए । स्थापितलाई कार्वाही गर्न अधिकारकर्मीको माग काठमाडौंका मेयरका उम्मेदवार केशव स्थापितको अभिव्यक्तप्रति महिला मानवअधिकार संघ संस्थाहरूले आपत्ति जनाए । स्थापितले प्रश्नकर्ता युवतीलाई आपत्तिजनक निकृष्ट शब्द प्रयोग गरेको भन्दै ४५ वटा संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै कारबाही गर्न माग गरे । ‘‘यस्ता असं‌म्वेदनशील, गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने, सार्वजनिक स्थानमै महिलालाई अपमानजनक र अमानवीय व्यवहार गर्नेलाई पार्टीले तुरुन्त कारबाही गरी मेयरको उम्मेदवारी रद्द गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको थियो । तर पार्टीबाट सुनुवाई भएन । स्थापितलाई पार्टी नेतृत्वबाटै संरक्षण स्थापित नेकपा एमालेका नेता हुन् । उनी यसअघि पनि एमालेबाटै काठमाडौंको मेयर भएका थिए । तर उनले एकपछि अर्को विवादास्पद अभिव्यक्ति दिइरहँदा पनि एमाले नेतृत्वले त्यसको संरक्षण नै गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मिटू आरोप लागेका स्थापितको बचाउ गर्दै 'यस्ता आरोप चुनावका बेला उठ्ने' गरेको भन्दै सामान्यीकरणको प्रयास गरे । चुनावका बेला अनेक मुद्दा उठाइने दाबी गर्दै उनले भने, ‘अनेक कुप्रचार आउँछ, चरित्रहत्याका कुरा आउँछन्, मिटू आउँछ यस्ता बेलामा ।’ ओलीले उल्टै प्रश्न गरे, ‘मिटू ! मिटू कतिबेला आउँछ भन्दा चुनाव आयो कि मिटू ! मिटूको के जवाफ हुन्छ र हुँदैन ।’ स्थापितलाई आयोगको स्पष्टिकरण स्थापितका विवादास्पद अभिव्यक्तिको गुनासो निर्वाचन आयोगमा पनि पर्यो । स्थापितले व्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी परेको र त्यसअनुसार के भएको हो भनेर २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्वाचन आयोगले गत बैशाख १६ मै भनेको थियो । केशव स्थापित २५ वर्ष अघि मेयर हुँदा ठिकै काम गरेका थिए । त्यही कामको श्रेय लिन खोजेर एमालेले अहिले फेरी उनलाई अघि सारेको छ । तर समय धेरै बदलिसकेको छ । अहिले स्थापितका अभिव्यक्तिले काठमाडौंको चुनावी परिणामलाई समेत प्रभावित पार्ने संभावना देखिएको छ । स्थापित आफैले हरेक दिन आफ्ना भोट घटाइरहेका छन् । उनकै कारण कांग्रेस उम्मेद्वार सिर्जना सिंह बलियो बन्दै गएकी छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार