
विभिन्न ७ बुँदे माग राखि धनगढीमा अनशन सुरु गरेको १० औं दिनमा उनी आफ्नै खर्चमा काठमाडौं आएका हुन् । अस्पताल भर्ना भए पनि अनशन जारी रहनेछ । सरकारले मंगलबार नै नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरेर काठमाडौं ल्याउन खोज्दा उनले अस्वीकार गरेका थिए ।
अनशनका क्रममा केसीको स्वास्थ्य स्थिति झन् झन् जटिल बनेपछि थप उपचारका लागि काठमाडौं ल्याउन सरकारले समेत पहल गरेको थियो । स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको हो । अस्पतालले डा. केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने जोखिम रहेको जनाएको छ । त्यस्तै त्यहाँका चिकित्सकहरुले पेटमा कडा खालको अल्सर भएको आशंकासमेत गरेका छन् ।
अनशन सुरु गरेको दोस्रो दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो । औषधि सेवन नगर्दा उनको स्वास्थ्य स्थिति गम्भीर भएकाले प्रादेशिक अस्पतालले मंगलबार बिहान विज्ञप्ति जारी गर्दै उनलाई विशिष्ट स्वास्थ्य सुविधा भएको अस्पतालमा लैजान सामाजिक विकास मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी दिएको थियो । उनी भर्ना भएपछि उपचार सुरु गरिएको शिक्षण अस्पतालले जनाएको छ ।