
काठमाडौं । देशभर फैलिएको डेंगुका कारण अहिलेसम्म २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असाेज ७ गतेसम्म डेंगुका कारण ज्यान गुमाउनेको संख्या २९ पुगेको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगु फैलिएको छ र साउनदेखि अहिलेसम्म २२ हजार ९८८ जनालाई डेंगु भएको छ । नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढिरहेको डेंगुले यो वर्ष महामारीकै रुप लिएको छ ।
सबैभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु भएको
मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेशमा २ हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशमा ७७७, प्रदेश १ मा ५९१, गण्डकीमा ५१५, मधेश प्रदेशमा ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगु भएको छ ।
भक्तपुर, ललितपुर लगायतका सबभन्दा धेरै संक्रमण फैलिएका जिल्लामा खोज र नष्ट गर अभियान चलाइएको पनि मन्त्रालयले जनाएको छ ।