
काठमाण्डौं । डेंगुका धेरैजसो बिरामीहरुमा घाँटीमा समस्या देखापरेको छ । डेंगु संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै शतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।
अल्का अस्पतालका चिकित्सक डाक्टर रक्षा गौतमले डेंगु हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताइन् । डेंगु हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने जस्ता लक्षणहरु बढी देखिने गरेको चिकित्सकको भनाइ छ ।
डा गौतमले पछिल्ला दिनहरुमा ९० प्रतिशत बिरामी डेंगुका रहेको बताइन् । डेंगु, फ्लू र सामान्य रुघाखोकी, ज्वरो लगायतमा केही लक्षणहरु एक आपसमा मिल्ने भएकाले रोग विशेषका लक्षणहरुको पहिचान गरी शतर्क रहन पनि उनको सुझाव छ ।
डेंगु सरुवा रोग नभएकाले परिवारको सदस्यलाई लाग्यो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको भन्दै उनले ज्वरो घटेन भनेर चिकित्सकको सल्लाह बिना जथाभावी औषधि सेवन नगर्न आग्रह गरिन् ।